आज ६८औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, फागुन ७ । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे विशेष कार्यक्रम आयोजना गरिएको छ ।
दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२/०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो ।
विसं २००६ मा नेपाली काँग्रेसको गठन गरियो । काँग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि देशव्यापी रुपमा आन्दोलन चर्कियो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनहरूलाई मृत्युदण्ड दिइएको थियो ।
विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । राणाशासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो । प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।