दार्चुला वन्यजन्तु अपराध इकाइले अपी नम्पा संरक्षण क्षेत्रमा सेना राख्न माग

दर्चुला, जेठ १ । दार्चुलाको अपी नम्पा संरक्षण क्षेत्रको सुरक्षाको लागि नेपाली सेनाको टोली राख्न माग गरिएको छ ।

जिल्ला स्तरीय वन्यजन्तु अपराध इकाइले अपी नम्पा संरक्षण क्षेत्रमा नेपाली सेनाको टोली राख्न माग गरेको अपी नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचाना अधिकारी पेम्पा शेर्पाले जानकारी दिएका छन् ।

साविकका २१ गाविस समेटेर बनाइएको अपी नम्पा संरक्षण क्षेत्रको जैविक विविधिताको संरक्षण र त्यस क्षेत्रको समग्र सुरक्षाका लागि संरक्षण क्षेत्रमा नै नेपाली सेनाको एक युनिट र जिल्ला सुरक्षा समितिबाट पारित गराएर सरकारसँग माग गरिने सहायक संरक्षण अधिकृत शेर्पाले बताए ।

भारत र चीनसँग सीमा जोडिएको अपि नाम्पा संरक्षण क्षेत्र जैविक विविधिता र अन्य हिसाबले समेत संवेदनशील भएकाले जिल्ला स्तरीय वन्यजन्तु अपराध इकाइले सेनाको उपस्थिति अनिवार्य भएको निर्णय गरेको हो ।

त्रिदेशीय सीमा क्षेत्र तथा तिंकर नाकामा हुने विभिन्न अपराधिक क्रियाकलापहरु, आखेटोपहार, चोरी तस्करी जस्ता क्रियाकलापहरुमा न्युनीकरण गर्ने उद्देश्यले नेपाली सेना राख्न माग गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्की, जिल्ला न्यायाधीश प्रकाशकुमार काफ्ले र प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहित जिल्लास्थित सरोकारवाला सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका अधिकारीहरुको बैठकले संरक्षण क्षेत्रमा नेपाली सेनाको युनिट राख्ने निर्णय गरेको हो ।

जिल्ला स्तरीय वन्यजन्तु अपराध इकाइले पछिल्लो पटक संरक्षण क्षेत्रमा सुरक्षामा गम्भीर चासो देखाएको छ ।

संरक्षण क्षेत्रमा अहिले यार्सागुम्बा संकलकहरुको चलहपहल बढेको र सोही अवसरको आडमा संरक्षण क्षेत्रभित्र चोरी तस्करी, अबैध कारोबारजस्ता अवाञ्छित क्रियाकलापहरु हुन सक्ने भन्दै अपराध इकाइले सुरक्षा चासो देखाएको हो ।

इकाइले आफ्नो १८ औं बैठकमा पाटन क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गर्नेदेखि लिएर त्रिदेशीय नाका र अन्य व्यापारिक नाकाहरुमा निगरानी बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *