कैलाली जिल्लालाई खुल्ला दिसामुक्त घोषणा

कैलाली, वैशाख ३१ । कैलाली जिल्लाको सामाजिक विकासको आधार, खुला दिसामुक्त क्षेत्र र स्वस्थ्यकर बानी व्यवहार’ उद्घोषका साथ आइतबार कैलालीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । कैलाली मुलुकको ५१ औं तथा प्रदेश नम्बर ७ को नवौं खुला दिसामुक्त जिल्ला हो ।

आइतबार धनगढीमा आयोजित एक भव्य कार्यक्रमबीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली खुला दिसामुक्त भएका घोषणा गरे ।

जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि–वास सीसी) को मुख्य आयोजनामा भएको खुला दिसामुक्त घोषणा सभा कार्यक्रमको विभिन्न दातृ निकाय, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय तथा संघसंस्थाको साझेदारी रहेको थियो ।

‘स्वस्थ्य र स्वच्छ वातावरण भएमात्र समृद्धि प्राप्त हुन्छ’ समारोहमा मुख्यमन्त्री भट्टले भने– ‘हाम्रो सोच, कार्यशैली र जीवनशैली परिवर्तन गरेमात्र स्वस्थ्य र स्वच्छ समाजको निर्माण सम्भव छ ।’

मुख्यमन्त्री भट्टले सरसफाईको नमुना जिल्ला तथा प्रदेश बनाउने प्रमुख चुनौति विद्यमान रहेको चर्चा गरे । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले खुला दिसामुक्त जिल्ला घोषणालाई दिगो बनाउने चुनौति रहेको बताए । उनले भने– ‘घोषणा मात्रै गरेर पुग्दैन, यसलाई दिगो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल र प्रयास गर्नु आवश्यक छ ।’

समारोहमा समारोहका अध्यक्ष, जिल्ला समन्वय समिति, कैलालीका प्रमुख तथा जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले खुला दिसामुक्त क्षेत्रको सामुहिक प्रतिवद्धता बाचन गरेका थिए ।

कार्यक्रममा कैलाली जिल्लाको सरसफाइ तथा स्वच्छता क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख तथा डि–वास सीसीका सदस्य सचिव नारायणप्रसाद काफ्लेले जिल्लाका सबै १३ स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरिसकेको बताए ।

प्रतिवेदनअनुसार २०६८ सालमा कैलालीमा करिब ४९ प्रतिशत घरधुरीमा मात्रै शौचालय रहेकोमा हाल सतप्रतिशत घरधुरीले शौचालय प्रयोग गरिरहेका छन् ।

कैलालीमा २०६३ सालमा साविक पवेरा गाविसको छोटी पलिया गाउँलाई पहिलो खुला दिसामुक्त वस्तीका रूपमा घोषणा गरिएको थियो ।

त्यस्तै, २०६९ साल चैत्र १२ गते कैलालीको साविक पवेरालाई पहिलो खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो । प्रगति प्रतिवेदनमा कैलालीमा ९७ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

‘जिल्ला, नगर तथा गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिहरू सक्रीय रहनु कैलालीको सरसफाई तथा स्वच्छता अवस्थाको सवल पक्ष हो’ प्रतिवेदनमा स्थानीय तहको सक्रिय नेतृत्व तथा स्थानीय स्तरको अभियानको संयोजन हुनु, सरसफाई अभियानमा सबै क्षेत्रबाट अपनत्व ग्रहण हुनु सकारात्मक पक्ष रहेको उल्लेख छ ।

त्यस्तै, सरकारी तथा गैरसरकारी निकायहरूको सक्रिय सहयोग, सञ्चार क्षेत्रको सक्रियता, नागरिक समाज, गैससहरूको सक्रियता र शिक्षा तथा स्वास्थ्य क्षेत्रको भूमिका, विद्यालय तथा बाल क्लवहरूको सक्रिय परिचालन तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका सरसफाई तथा स्वच्छताका सवल पक्षका उल्लेख गरिएको छ ।

प्रतिवेदनमा खुला दिसामुक्त क्षेत्र घोषणापछिका दिनमा जिल्लामा बढ्दो बजारीकरणले उत्सर्जित फोहोरमैलाको उचित व्यवस्थापन, आवश्यक माग अनुसार सार्वजनिक सौचालय निर्माण नहुनु चुनौति रहेको उल्लेख छ ।

त्यस्तै, जिल्लामा संस्थागत शौचालयहरूको कमजोर व्यवस्थापन, सबै वस्तीमा सुरक्षित खानेपानी आपूर्तिमा समस्या, अझैं केही घरधुरीमा साझा शौचालय हुनु, चर्पिको स्वस्थ्यकर प्रयोगबारे अझैं पनि समुदाय स्तरमा सचेतनामा कमी, बढ्दो बसाईसराईका कारण नयाँ घरमा सौचालय निर्माणमा ढिलाई पनि चुनौतिका रूपमा उल्लेख गरिएको छ ।

त्यस्तै, सुकुम्बासी वस्तीमा शौचालयको नियमित प्रयोगमा समस्या, वर्षायाममा बाढीका कारण भत्केका शौचालयको पुनस्निर्माणमा समस्या पनि आगामी दिनका चुनौतिका रूपमा रहेको डिभिजन प्रमुख काफ्लेले चर्चा गरे ।

सरसफाइ तथा स्वच्छताका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे चर्चा गर्दै डिभिजन कार्यालय प्रमुख काफ्लेले भने– ‘नगरपालिका तथा गाउँपालिकाहरूले पूर्ण सरसफाईयुक्त क्षेत्रको विकास गर्न र पूर्ण सरसफाई अभियान सञ्चालन गर्नु आवश्यक छ ।

त्यस्तै, आगामी दिनमा खानेपानी आपूर्तिको अवस्थामा सुधार तथा निर्माण भएका आयोजनाहरूको सूचारुपना सुधारमा प्राथमिकता दिनुपर्ने, विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सुधारमा जोड दिई नमुनास्थल बनाउनुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

त्यस्तै, गाउँघरमा निर्माण भएका कच्ची चर्पीहरूको सुधार तथा स्तरोन्नतीमा जोड दिने, समुदाय स्तरमा चर्पीको स्वस्थ्यकर प्रयोग तथा व्यवस्थापन, साबुनपानीले हात धुने र घरेलु पानी सुद्धिकरण विधिलाई व्यवहार परिवर्तन गर्न अभियान सञ्चालन, र जिल्लाका मुख्य बजार क्षेत्रको सरसफाई अवस्था सुधार गर्न फोहोर मैला व्यवस्थापन, पर्याप्त सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन कार्यमा जोड दिनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

खुला दिसामुक्त घोषणा सभामा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले ९७ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको तथ्यांक मात्रैले सबैले स्वच्छ र स्वस्थ्य खानेपानीको प्रयोग गरिरहेको भन्न नसकिने बताए । उनले भने– ‘सबैले प्रयोग गर्ने हेन्डपम्पको पानी स्वस्थ्यकर छ भन्ने सुनिश्चित गर्न सकिदैन ।’

समारोहमा खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव शंकरप्रसाद सुवेदी, प्रदेश ७ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजनराज पाण्डे र खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजनल इञ्जिनियर नारायणप्रसाद खनालले सरसफाई तथा स्वच्छताको अवस्था, खुला दिसामुक्त घोषणापछिका चुनौति र आगामी दिनमा अवलम्बन गरिनु पर्ने कार्यबारे चर्चा गरे ।

त्यस्तै, युनिसेफ नेपालका क्षेत्रीय वास कार्यक्रम प्रमुख विश्वराज भट्ट, आरभीडब्लु आरएमपीका डेपुटी टिम लिडर नारायणप्रसाद वाग्ले, युएसआइडी, नेपालका प्रतिनिधि प्रज्ञा श्रेष्ठ, सेवक नेपाल, सेफ वास दोस्रो परियोजनाका चिफ अफ पार्टी बीबी थापा र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

समारोहमा बरिष्ठ लोकगायक नरेन्द्रराज रेग्मी र गायिका गौरी भट्टले गीत प्रस्तुत गरेका थिए भने रानाथारूको होरी नाच तथा सुकवीर लामाले निर्देशन गरेको सडक नाटक प्रस्तुत गरिएको थियो ।

सो अवसरमा खुला दिसामुक्त अभियान सफल बनाउन विशेष योगदान पुर्‍याएका विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था तथा व्यक्तिलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको पत्रकार मनमोहन स्वाँर तथा उमा गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *