कांग्रेसमा नेतृत्व परिवर्तनको खाँचो छः शेखर कोइराला

विराटनगर, वैशाख ३१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

पार्टी सभापति विधान र सहमति दुबै मिचेर अगाडि बढेको भन्दै उनले विरोध गरेका छन् ।

दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेर विधान मिचेको र अहिले पदाधिकारी नियुक्त गर्दा सहमति विपरित हिँडेको उनले बताएका छन् ।

एउटा धारा निलम्बन गरेर विधान सम्वत बनाउने वा सहमति गरेर पदाधिकारी नियुक्त गर्ने बाटो भएपछि सभापति देउवाले दुबैलाई लत्याएको उनले आरोप लगाएका छन् ।

सोमबार विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भने, सबै शक्ति मैले संचय गरेँ भने म अधिनायकवाद हुन्छ, यो पार्टीमा पनि लागू हुन्छ, सरकारमा पनि लागू हुन्छ ।’

उनले तत्काल महाधिवेशन गर्न माग गरेका छन् । कोइरालाले भने, ‘सभापति देउवा जति कुर्सीमा रहनुहुन्छ, पार्टी त्यति नै कमजोर हुन्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको खाँचो छ ।’

कांग्रेस नेता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सकारात्कम भएको बताए । तर, भारतीय जनता पार्टीका सांसद आजादले जनकपुर भारतलाई फिर्ता गर्नुपर्ने अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै उनले विरोध गरेका छन् ।

साथै मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति उपयुक्त नरहेको टिप्पणी समेत व्यक्त गरेका छन् ।

उनले घरको कुरा घरमा मिलाउँदा राम्रो हुने भन्दै, पाहुनाको अघि यस्ता कुरा गर्नु उचित नहुने धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *