बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम (हार्इलाइटस सहित)

बैशाख ३१, काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा टुंगिएको छ । गएराती लेभान्टेसँग ५-४ को गोल अन्तरले पराजित भएपछि गत सालको अप्रिलदेखि ला लिगामा लगातार ४३ खेलमा अपराजित रहेको बार्सिलोना ४४औ खेलमा पराजित भएको छ ।

आफ्ना स्टार खेलाडी लियोनेल मेसीलाई आराम दिएको खेलमा बार्सिलोनाका लागि गत जनवरीमा लिभरपुलबाट बार्सिलोना एक फिलिप कोन्टिन्होले ह्याट्रिक गरेपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । बार्सिलोनामा कोन्टिन्होको यो पहिलो ह्याट्रिक हो । त्यस्तै बार्सिलोनाका लागि चौथो गोल लुइस स्वरेजले पेनाल्टी मार्फत गरेका थिए ।

त्यस्तै आफ्नो घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको लेभान्टेका लागि एम्मन्युयल बोटेंगले ह्याट्रिक गरेका थिए भने इनिस बर्धिले दुई गोल गरेका थिए ।

पहिलो हाफमा २-१ ले पछि परेको बार्सिलोना दोस्रो हाफमा लेमान्टेले लगातार तीन गोल थपेर ५-१ को अग्रता लिएपछि संकटमा आएको थियो । तर कोन्टिन्होले दुई गोल र स्वरेजले पेनाल्टीबाट गोल गर्दै कमब्याकको प्रयास भएपनि त्यो जितका लागि भने पर्याप्त भएन ।

यसरी बार्सिलोना ला लिगामा २०१७ को अप्रिलमा मालागासँग पराजित भएको ४ सय दिन पछि लेभान्टेसँग पराजित भएको छ । त्यस्तै बार्सिलोनाले सन २००३ को डिसेम्बरपछि पहिलो पटक कुनै एक खेलमा ५ गोल खाएको छ । बार्सिलोनाले पछिल्लो पटक सन २००३ मा मालागासँग ५-१ ले हारेको थियो ।

त्यसैगरि एम्मन्युयल बोटेंग सन २००५ पछि बार्सिलोनाविरुद्ध ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् एम्मन्युयल बोटेंगसन २००५ मा डिएगो फोरलानले बार्सिलोनाविरुद्ध ह्याट्रिक गरेका थिए ।

त्यस्तै कोन्टिन्हो बार्सिलोनाको पहिलो यस्तो खेलाडी बनेका छन् जसले सन २००० यता ह्याट्रिक गरेर पनि टिमलाई जित दिलाउन सकेनन् ।

त्यस्तै बार्सिलोनाले सन १९५० पछि पहिलो पटक कुनै टिम विरुद्ध ४ गोल गरेर पनि खेल हारेको छ । सन १९५० मा एथलेटिकोसँग बार्सिलोना ६-४ गोल अन्तरले पराजित भएको थियो ।

https://www.youtube.com/watch?v=eVxgcOzYrKo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *