किरात राई पत्रकार संघ सुनसरीमा कलह

सुनसरी, बैशाख ३० । राई पत्रकारहरुको संगठनमा विवाद सृजना भएको छ । किरात राई पत्रकार संघ सुनसरीका अध्यक्षले आफुखुसी संगठन चलाएको भन्दै असन्तुष्ट पक्षधरले नयाँ कार्यसमिति गठन गरेका छन् ।

सुनसरी कार्यसमितिका केही सदस्यले विधि, पद्धती र संस्थाभन्दा माथि रहेर काम गरेको भन्दै असन्तुष्ट पक्षले कार्यसमितिको कार्यशैलीप्रति असन्तृष्टी ब्यक्त गर्दै नयाँ कार्यसमिति चयन गरेका हुन् ।

संघका जिल्ला अध्यक्ष सन्देश बान्तवा राईले पर्याप्त छलफल र तयारी बिनै बैठकमा प्रस्ताव ल्याउने र आफुखुशी निर्णय गर्ने गरेको असन्तुष्ट पक्षको आरोप छ । उनीहरुले अध्यक्ष सन्देश बान्तवा राईले कार्य समितिमा पर्याप्त छलफलै नगरी आगामी वर्षका लागि संघकै सदस्य सन्जु राईलाई ठेक्कामा अध्यक्षको आश्वासन समेत दिईसकेको आरोप लगाएका छन् ।

सदस्य राईले योजनाबद्ध रुपमा अध्यक्ष राईका निर्णयलाई समर्थन गर्दै बैठकमा जबरजस्ती एजेण्डा प्रवेश गराउने, पारित गर्दा औपचारिकता मात्र पूरा गर्ने अनी त्यसलाई आफू अनुकूल व्याख्या गरेर माइन्यूट तयार गर्ने गरेको जिकिर गरेको छ ।
असन्तृष्ट पक्षधरहरुले बैशाख २८ गते किरात राई पत्रकार संघ सुनसरीको नयाँ कार्य समिति गठन गरेको छ ।

जसमा प्रबिण राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति खडा गरिएको छ । समितिको उपाध्यक्षमा मनिता चाम्लिङ, सचिवमा शिशिर राई, सह–सचिवमा बिजय राई रहेका छन् । समितिको कोषाध्यक्षमा बसन्त राई र सदस्यहरुमा देबिका राई, सुक्रान्त राई, पारस राई, दिलिप रेनेहाङ राई, सुप्रिया राई तथा ललित राई रहेका छन् ।

‘विधि, पद्धति र संस्थाभन्दा माथि व्यक्ति हुन सक्दैन भन्ने हाम्रो मान्यता हो । अग्रज नेतृत्वले बसालेको यो मान्यता र संस्कारलाई उन्नत बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’ संघका एक सदस्य सन्दिप राईले बताए । ‘बहुमत र अल्पमत भनेर वहस गर्नुभन्दा पनि संस्था भएपछि ब्यक्तिगत रुपमा मनोमानी ढंगले चल्नुहुदैन ।’ संघका जिल्ला सल्लाहकार उपेन्द्र चाम्लिङले बताए ।

साथै संघको केन्द्र र जिल्ला सम्मेलनको बारेमा जिम्मेवार पदाधिकारीलाई जानकारी समेत नगराइएकोमा उनले दुःख ब्यक्त गरेका छन् । सन्देश राईले आफुखुशी माइन्युट लेख्ने र सदस्यलाई समेत जानकारी नगराउने गरेकोले यस्ता निर्णय संस्थागत हुन नसक्ने भन्दै भत्र्सना समेत गरिएको छ ।

सुनसरी कार्य समितिमा देखिएको विवादलाई समाधान गर्न केन्द्रिय कार्य समितिले महाधिवेशनमा दुवै पक्षबाट तीन–तीन जना प्रतिनिधि पठाउन भनेपनि महाधिवेशनमा असन्तुष्ट पक्षबाट कोहि पनि सहभागी नभएको संघका निवर्तमान अध्यक्ष दीपेन्द्र राईले बताए । ‘हामीले दुवै पक्षलाई तीनतीन जना प्रतिनिधि पठाउनु भनेका थियौं, उहाँहरु (असन्तुष्ट पक्षधर) आउनु भएन, अब नयाँ कार्य समितिले धरान गएरै दुवै पक्षलाई राखेर समस्या समाधान गर्ला ।’ उनले भने । यस विषयमा संघका नवनिर्वाचित अध्यक्ष भीम राईलाई सम्पर्क गर्न खोज्दा उनको मोवाईल उठेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *