मुस्ताङको मान्थाङमा यसरी मनाइन्छ ऐतिहासिक तिजी पर्व

मुस्ताङ, वैशाख ३० । हिमाली जिल्ला मुस्ताङको पनि उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक शुरु भएको छ ।

पन्ध्रौँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजी पर्वमा पहिलो दिन विभिन्न देवीदेवताको पूजापाठ गरिन्छ । अन्य दुई दिन सांस्कृतिक नृत्य प्रदर्शन हुने बताइएको छ ।

पर्वको पूर्वसन्ध्यामा लोमान्थाङ क्षेत्रमा स्थानीय आमा समूह, युवा क्लब, सरसफाइसँग सम्बन्धित विभिन्न संघसंस्था र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयोजनमा सरसफाइ गरिएको प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

उपल्लो मुस्ताङीले आपसी स्नेह साटासाट तथा विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामनाका साथ तिजी पर्व मनाउँछन् । पर्व बौद्ध लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिएको पाइएको एक्याप इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख तुलसी दहालले जानकारी दिए ।

पर्वमा लोमान्थाङ गाउँपालिका र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका सर्वसाधारणले सहभागिता जनाउँछन् । पर्वमा रमाउन विदेशी पर्यटक पनि लोमान्थाङ पुग्ने गरेका छन् । यस वर्ष लगभग ४०१ विदेशी पर्यटक लोमान्थाङमा तिजी पर्वको अवसरमा घुम्न आएको प्रमुख दहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *