योग गुरु सुनिता भन्छिन् ‘जीवन योगमै समर्पित गर्नेछु’

छोटो समयमै योग गुरुको रुपमा आफूलाई स्थापित गर्न सफल महिला हुन् सुनिता कोइराला । उनको जन्म भक्तपुरको गुन्डुमा भएको थियो । उनी हाल राधाकृष्ण सेवा संस्था र सामुदायिक भवन महांकालमा योग गुरुको रुपमा कार्यरत छिन् ।

योग गुरु सुनिता कोइराला भन्छिन्

योग भनेको यस्तो चिज हो, जहाँ प्रवेश गरिसकेपछि त्याग्न मन लाग्दैन । योग बोल्ने कुरा पनि होइन, यो त गर्ने कुरा हो । र योग प्रदर्शन गरिदैँन, यो त सिक्ने प्रक्रिया हो ।

योगले रोग लाग्न दिँदैन र लागिसकेकाे छ भने पनि त्यसलाई नियन्त्रण गर्ने क्षमता प्रदान गर्दछ । योगमा जातभात, ठूलोसानो केही हेरिँदैन, न त नाम नै तोकिन्छ । सबैलाई निष्पक्ष रुपमा हेरिन्छ ।

उनका अनुसार, योग गर्न शुरुमा कठिनाई भएतापनि विस्तारै गर्दै जाँदा शरीरमा यसको सकारात्मक प्रभाव पर्न थाल्दछ र कुनै समस्या हुँदैन ।

उनी भन्छिन्, मलाई पनि शुरुमा निकै गाह्रो भएको थियो । लगभग एक वर्ष अगाडी मलाई आफ्नो शरीर आफैँलाई भारी लाग्थ्यो । आफ्नो शरीरलाई कसरी स्फूर्त बनाउने भनेर म दिनैभरी सोचमग्न हुन्थेँ । योगको बारेमा सुनेको त थिएँ तर, प्रत्यक्ष योग गर्ने अवसर भने पाएकी थिइनँ ।

त्यसै क्रममा म एकदिन चिने जानेकै जुत्ता पसलमा पुगेकी थिएँ । संयोग भनौँ या के भनौँ, त्यहाँ एक बहिनीसँग भेट भयो । उनले मलाई योगले धेरै राम्रो हुने र योग सिक्ने सल्लाह दिइन् ।

त्यो कुरा मलाई पनि कताकता राम्रो लाग्यो, मैले पनि योग सिक्ने निर्णय गरेँ र, उनलाई योगा शिविर सम्म पुर्याइदिन आग्रह गरेँ । त्यसपछि उनले मलाई सरस्वती नगरको राधाकृष्ण भवनमा पुर्याइदिइन् ।

मलाई अझै पनि याद छ त्यो दिन जुन दिन म त्यहाँ पहिलो पल्ट योग सिक्न पुगेकी थिएँ । मिति ०७३ बैशाख २८ गते हुनुपर्छ, म राधाकृष्ण शिविरमा पुगेँ र योगा सिक्न शुरु गरेँ । शुरु त गरेँ तर, मलाई केही आएन भनौँ या गर्न सकिनँ । अरुले गरेको देखेर मनमनै म आफ्नो शरीरलाई धिक्कार्न थालेँ । मलाई बल्ल थाहा भयो कि मेरो शरीर यस्तो भइसकेको रहेछ कि कुनै अंगले कहीँ कतै पनि छुनै नसक्ने, कुनै लचक नै नभएको ।

म निराश बन्न पुगेँ । मेरो योग प्रतिको रुचि नै क्रमशः सेलाउने क्रममा थियो तर, त्यो समयमा मैले परिवारको साथ र सहयोग पाएँ । परिवारका सदस्यले ‘तिमीले गर्न सक्छौ, यसले तिमीलाई धेरै राम्रो हुन्छ, तिमीले जसरी पनि गर्नैपर्छ’ भने । त्यसपछि मैले मेरोे इच्छाशक्तिलाई अझै बलियो बनाउँदै योग गर्ने निर्णय गरेँ र, दिनहुँ बिहान योग गर्न जान थालेँ ।

योग शुरु गरिसकेपछि मलाई पनि यसको सकारात्मक प्रभाव पर्न थाल्यो । विस्तारै ममा योगको लत नै बस्न थाल्यो । मलाई योग गर्न थालेपछि आफ्नो शरीर हल्का, फूर्तिलो र लचकदार भएको महशुस हुन थाल्यो । र यसले मलाई तनावमुक्त हुन पनि निकै सहयोग पुर्याउँदै गयो ।

पहिलादेखि नै सो शिविरमा योग गुरुको लागि पनि प्रशिक्षण हुने गरेको रहेछ । पुनः प्रशिक्षण कार्यक्रम गर्ने कुरा भयो । मैले त गुरुलाई शिक्षक नबन्ने बताएकी थिएँ तर, गुरुले मेरो लगनशिलता, मेहनत, योग अनुशासन र योग प्रतिको लगाव देखेर मलाई ‘तपाई गुरु बन्न लायक हुनुहुन्छ’ भन्नुभयो ।

त्यसको केही समयपश्चात लगभग ४३ दिनको प्रशिक्षण कार्यक्रम शुरु भयो । प्रशिक्षणका क्रममा ठूल्ठूला योग गुरुहरुको योग प्रतिको लगनशिलता देखेर मैले पनि मनमनै विचार गरेँ कि ‘म बाँकी जीवन योगमै समर्पित गर्नेछु ।’ प्रशिक्षण पश्चात् मैले पनि योग गुरुको पदवी पाएँ र म जस्तै अरु महिला तथा योग केन्द्रमा आउनेहरुलाई योग सिकाउन थालेँ ।

विशेषगरी त म यतिबेला मेरा गुरु मोहन प्रसाद घिमीरेलाई निकै सम्झिन्छु । किनकी म योग गुरुको रुपमा उभिनुमा उहाँको निकै ठूलो सहयोग रहेको छ ।

‘अब बाँकी जीवन योग गर्न र सिकाउनमै व्यतित गर्नेछु । योगका बारेमा सबैमा ज्ञान बाँड्नेछु र सबैलाई योग गर्न प्रेरित गर्नेछु ।’ उनले भनिन् ।

योगले कुनै हानी नोक्सानी नहुने गर्न जाने फाइदै फाइदा हुने उनको भनाइ छ । योगले तन, मन, वचनदेखि नै पवित्र बनाउँछ, योगले मान्छेको शारिरीक र मानसिक सम्पूर्ण कुरामा परिवर्तन गराउँछ । तन, मन र मष्तिष्कलाई एकाग्रता प्रदान गर्दछ र डिप्रेशन हुन पनि दिँदैन ।

उनका अनुसार, योग सिक्ने भनेर मात्र हुँदैन । यसका विभिन्न चरणहरु हुन्छन् त्यसलाई विधिवत रुपमा गर्न सके मात्र यसले फाइदा दिन्छ । मुख्यतः यसमा श्वासप्रश्वासको गति मिलाउनुपर्ने हुन्छ । यदि मिलेन भने यसले योगको कुनै अर्थ राख्दैन ।

मन चञ्चल हुने व्यक्तिहरु पनि योगमा लागेमा उनीहरुको मन स्थीरमा हुन्छ । जो मनै देखि योगलाई अँगाल्छ उसले कहिल्यै पनि त्याग्दैन । योग गर्न सके फाइदै फाइदा छ, यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै अनुहारमा तेज पनि सिर्जना गर्ने योग प्रशिक्षक सुनिता कोईरालाको भनाइ छ ।

कुराकानीमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *