संसदमा राष्ट्रपतिको सम्बोधन : ४१ प्रतिशत महिलाको सहभागिता उत्साहजनक

काठमाडौँ, चैत १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा ४१ प्रतिशत महिलाको उपस्थिति उत्साहजनक रहेको बताएकी छन् ।

पहिलोपटक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसातर्फ होमिनु नहुने बताईन् ।

नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गरेको यो पहिलो पटक हो ।

राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले आज अन्य कार्यसूची छैन । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको थियो ।

राष्ट्रपतिले संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *