राष्ट्रपति भण्डारीले आज संसदमा संबाेधन गर्ने

काठमाडौं, चैत १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा संबोधन गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो बैठकलाई आज राष्ट्रपतिले संबोधन गर्न लाग्नुभएको हो ।

मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रह अनुसार सोको तयारी नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालयले गरेको थियो ।

अपराह्न ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदमा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकोमा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नुहुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

सम्बोधन कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । सरकारले सम्बोधनको मस्यौदा राष्ट्रपतिसमक्ष बुझाइसकेको र निर्धारित समयमा राष्ट्रपति संसद्को संयुक्त बैठकमा सम्बोधनका लागि जाने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *