यस्तो बन्दैछ एकीकृत पार्टी: आठ तहको पार्टी संरचना, चुनाव चिह्नमा मिलेन कुरा

काठमाडौं, चैत १५ ।  एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ। केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप दिएको छ।

यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ।

केन्द्रदेखि तल्लो तहको प्रारम्भिक कमिटीसम्म आठ तहका पार्टी संरचना निर्माण गर्ने गरी एकीकृत पार्टीको अन्तरिम विधान तयार भएको छ। आगामी २ वर्षभित्रै एकीकृत पार्टीकोे एकता महाधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यदलले अन्तरिम विधान तयार पारेको एमाले नेता तथा कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिए। २३ अध्याय र ७७ धारामा केन्द्रित गरी कार्यदलले अन्तरिम विधान तयार पारेको छ।

पार्टी एकताका क्रममा सबै नेतालाई समेट्न उमेर हद नलगाउने गरी हाललाई खुला राखिएको छ। तर, दुई कार्यकालभन्दा बढी समय पदाधिकारी रहन नपाउने प्रावधानलाई अन्तरिम विधानमा समेटिएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई अब दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले बुझ्ने समय दिएको जुनकुनै बेला पनि बुझाउन सक्ने गरी तयारी अवस्थामा राखिएको कार्यदलका अर्का सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए।

आठ तहको पार्टी संरचना

बादल नेतृत्वको कार्यदलले प्रादेशिक राज्य प्रणाली र लेनिनवादी सिद्धान्तलाई मूल आधार बनाएर संगठनात्मक ढाँचा तयार पारेको छ। अन्तरिम विधान तयार पार्दा दुई पार्टीबीच भएका सहमतिलाई पक्रिएर काम गरेको कार्यदलका सदस्य भुषालले बताए।
केन्द्रदेखि तल्लो प्रारम्भिक कमिटीसम्म एकीकृत पार्टी संरचना आठ तहको हुने गरी कार्यदलले संगठनात्मक ढाँचा तयार पारेको हो।
केन्द्रमा दुई अध्यक्षले संयुक्त रूपमा पार्टी अध्यक्षको रूपमा नेतृत्व गर्ने, बैठकको अध्यक्षता आलोपालो प्रणालीका आधारमा गर्ने, अन्य पदाधिकारी नरहने, स्थायी समिति र पोलिटब्युरोको संरचना बनाउने गरी अन्तरिम विधान तयार भएको छ।
केन्द्रीय समिति २९९ सदस्यीय, पोलिटब्युरो केन्द्रीय समितिको एक तिहाइ अर्थात् ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति अर्थात् ३३ सदस्यीय कमिटी रहनेछन्।
केन्द्र र प्रदेशमा लेखापरीक्षण आयोग, अनुशासन आयोग र निर्वाचन आयोग गरी तीन आयोग, केन्द्रदेखि निर्वाचित तल्लो कमिटीसम्म सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिस्ट मञ्च बन्ने गरी विधानमा व्यवस्था भएको छ।
केन्द्रमा राष्ट्रिय परिषद् र प्रदेशमा समेत प्रदेश परिषद् रहने व्यवस्था पनि एकीकृत पार्टीको विधानमा छ। राष्ट्रिय परिषद्मा केन्द्रीय कमिटीका सबै जना, आयोग, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्चका सबै, प्रदेशका पदाधिकारी, प्रदेश आयोगका पदाधिकारी, जिल्ला समितिका अध्यक्षहरू पदने सदस्य रहने गरी व्यवस्था गरिएको छ।
त्यसो गर्दा सोबराबर संख्यामा थप ५० प्रतिशत मनोनीत हुने गरी जम्बो राष्ट्रिय परिषद्को व्यवस्था विधानमा समेटिएको छ।

चुनाव चिह्न
एकीकृत पार्टीको विधानको प्रस्तावना र चुनाव चिह्नमा भने अझै विवाद छ। चुनाव चिह्नमा एमालेले सूर्य चिह्नलाई एकीकृत पार्टीको चुनाव चिह्न बनाउनुपर्ने बताएको छ भने माओवादी केन्द्रले सूर्यभित्र हसियाँ हथौडालाई समावेश गरी चुनाव चिह्न बनाउनुपर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *