आजको श्रवणकुमार (संस्मरण)
“
नेपालमा २०७२ साल वैशाख १२,१३ र २९ गते आएको विनाशकारी भूकम्पले नेपाल र नेपालीले ठुलो क्षति व्यहोर्नु पर्याे । कतिको त ज्यानैसमेत गयो भने कति त घरबार विहीन भए । नेपालको ऐतिहासिक धरोहर माटोमा विलीन भयो । त्यसै बेला उनन्चालिस चालिस वर्षदेखि एउटै घरमा अाफ्नाे घर सरी मायाले बस्नु भएका मेरी ठूलीआमा र दाइ त्यो घरबाट विस्थापित हुनुपर्याे ।
‘नानी तेरो ठुलो बुवा यहीँबाट बिदा हुनुभयो । म पनि यही घरबाट बिदा हुन पाउँ । घर बनाउँन सकिएन, तेरो दाइ सोझो, लपनछपन जान्दैन । काम गरेको ठाउँमा त सबैको प्यारो छ भन्ने सुन्छु तर अाफ्नाे लागि केही गर्न सकेन । यसैको चिन्ता लाग्छ । तेरी भाउजूले घर गर्न चाहेनन् । मेरो शेषपछि के गर्ला छोरोले,’ भेट्न जाँदा रुँदै भन्ने गर्नुहुन्थ्यो । तपाईँ र तपाइकी बहिनी (मेरी आमा) रुनमा खप्पिस हुनुहुन्छ । रुने प्रतियोगिता भयो भने तपाइहरू दुई दिदीबहिनीलाई कसैले जित्न सक्दैन भन्दै गर्दा आँखामा आँसु लिई एकै छिन भए पनि गद्गद् हाँस्नु हुन्थ्यो ।
ती त्रियाननब्बे वर्षीय वृद्धा मेरी साइलीआमा भूकम्पका बखत के भयो होला ? घर पुरानै थियो । मैले त आशै मारेकी थिएँ । फोन मार्फत पत्ता लगाउँदै गर्दा उहाँहरू सुरक्षित नै हुनुहुन्छ भन्ने कुरा आफन्तद्धारा थाहा पाउँदा खुसी भएकी थिएँ । मेरी आमासमेत चार दिदीबहिनीमा उहाँमात्र जीवित हुनुहुन्छ ।
सन्तान ठुलो भएपछि कति सपना बुन्नु भएको थियो होला उहाँले । काठमाडौँमा सानो घर बनाउँछु । छोराको विवाह गरिदिन्छु आदि इत्यादि । घर त बनाउँन सक्नु भएन, छोराको विवाहचाहिँ गरिदिनु भयो । एउटी नातिनी पनि भयो तर छोराबुहारी बिचको सम्बन्ध विवाहको केही वर्षपछि चिसियो । एउटै धारमा बगिरहेको खोलाको पानी दुई किनारामा पाखा लाग्न पुग्यो । दाइ त्यतिसम्मको निर्दयी त होइन, मृदुभाषि, सरल स्वभावको धनी हुनुहुन्छ । साइँली आमा पुरानो बिचारधाराको पर्नु भयो । फेरी त्यही त हो नि सासू, नन्द, आमाजू र बुहारी बिचको सम्बन्ध परापूर्वकालदेखिनै एकले अर्कोलाई राम्रो व्यवहार गर्न नचाहने नगर्ने देख्दैसुन्दै आइरहेका छौँ । अझ परम्परा नै बसिसकेको छ भन्दा पनि फरक नपर्ला ।
दाइ पर्नु भयो, मातृभक्त पितृभक्त । पत्नी र आमाबुवा बिच दुईलाई रोज्नुपर्दा आमाबुवालाई रोज्नु भयो होला ? पत्नी र प्राणभन्दा प्यारी छोरीबाट नचाहँदा नचाहँदै पनि अलगिनु पर्याे। कति रहर थियो होला दाइलाई छोरी, हजुरआमालाई नातिनी खेलाउने, सुम्सुम्याउने, अँगालोमा हाल्ने । अबोध नातिनीले पनि अाफ्नाे अामाबुवाको काखमा बसेर खान लाउन बस्न पढ्न, खेल्न पाउने बालअधिकारबाट बन्चित हुनु पर्याे। कहिलेकाहीँ ठूलीआमालाई भेट्न जाँदा नातिनीको कुरा गरिगरी कति रुनुहुन्थ्यो ।
मैले दुई पतिपत्नी बिचको फोटालाई मिलाउने कोसिस नगरेको पनि होइन तर, असफल भएँ । दाइभाउजू भूकम्प अघिसम्म त एउटै चोक, घरमात्र फरक थियो । भाउजू आफू पनि काम गर्ने भएकोले होला, छोरी उनको आफ्नै दिदीको घरमा हुर्काउनु भयो । भाउजूको मानापाथी आफूले सक्दो दाइले केही वर्ष व्यहोर्नु भएको थियो । अहिले छोरी पनि ठूली भइसकी । डी.भी. परेकोले पढाइको साथसाथै कामको सिलसिलामा विदेशमा छिन् ।
दाइ पत्नीको लागि असल पति र छोरीको लागि असल पिता बन्न सक्नु भएन तर आमाबुवाको असल छोरोचाहिँ अवश्य बन्नु भएको छ । उहाँ आमाबुवाले खाना खानुभयो भएन आदि इत्यादि एउटा छोराले गर्नुपर्ने कर्तव्यबाट अलिकति पनि कहिल्यै बिमुख हुनुभएको छैन भन्ने लाग्छ । बिहानको नित्यकर्म सकेपछि पहिलो काम आमाबाबुलाई साष्टाङ्ग दण्डवत दैनिक गर्ने हुन्थ्यो, गर्नु हुन्छ । साँझको बत्ती बालेपछि पनि सोही कार्य दैनिक दोहो्याउनु हुन्छ । ठूलोबुवा बित्नु भएको पनि ९ वर्ष भइसक्यो । सँगै बस्ने आमाछोरा मात्र हुन् । सकुन्जेल त ठूलीआमाले घरको सबैकाम आफैँ गर्नु हुन्थ्यो । ‘बुहारी हामीसँग मिल्न सकिन, मेरो शेषपछि छोरा कसरी बस्छ होला नानी !’ भनी रुनु हुन्थ्यो । मैले भन्ने एउटै कुरा हुन्थ्यो–‘तपाईँको छोरा श्रवण कुमार, यस्तो छोरा पाउनु सातजन्म तपस्या गरे पनि पाइँदैन । आमाबुवाको लागि आफ्नाे खुसीको प्रवाह गर्नु भएन । दाइको केही चिन्ता नलिनु । तपाईँको शेषपछि दाजुभाउजू एक हुने छ’, भन्दैगर्दा भन्नुहुन्थ्यो ‘खै नानी बाँचुन्जेल देख्न पाइएन पछि के हो कसो हो ?’
म एउटी सरकारी कर्मचारी परे । भाद्र महिनाको ३० गतेसम्ममा प्रत्येक कर्मचारीहरूले निजामती किताबखानामा सम्पत्ति विवरण बुझाउनु पर्ने भएकोले त्यसैको सिलसिलामा काठमाडौँ गएकी थिएँ, पतिको साथ । काठमाडौँ जाँदा धेरै दुःखकष्टले गएका थियौँ, किनकि घर वीरगन्ज, मधेस आन्दोलन चलिरहेको थियो । एउटा पनि सवारी साधन चल्न दिइएका थिएनन् । मधेसी समुदायकै एउटा साथीको मोटर साइकलको सहयोग लिई सिमरा आइ बस चढेका थियौँ । सिमरामा आन्दोलन नभएको कारण त्यहाँबाट काठमाडौँं जाने साधन जति भए पनि पाउँथ्यो । त्यो साथीलाई धन्यवाद दिनै पर्छ ।
काठमाडौँ पुगेपछि पहिला म जुन कामको लागि गएकि थिएँ, त्यो काम पूरा गर्न पट्टी लागे । काम सकेपछि भूकम्पपछि भेटघाट नभएका मेरा आफन्तहरूलाई भेट्ने क्रममा उहाँहरू बसेको ठाउँ पत्ता लगाई म र मेरो पति भेट्न गयौँ ।
नेपालटार नजिक शेषमति भन्ने ठाउँमा नयाँ पक्की घरमा बस्नु भएको रहेछ । हामीलाई देख्नेवित्तिकै खुसी हुनुभयो । भूकम्पपछि यसरी भेट्न पाइन्छ भन्ने सोंचेकै थिइनँ । एकडेढ घण्टाको भलाकुसारीपछि मैले दाइलाई सोधे ‘दाइ घरभाडा कति लिन्छ ?’ ठूलीआमाले भन्नु भयो तीन हजार, दाइले भन्नुभयो फाइप थाउजेन्ट । त्यसो भन्नुको कारण मैले बुझ्दा नबुझ्दै ठूलीआमाले ‘के भनेको’ भनी दाइतिर हेरी प्रश्न तेर्साउनु भयो । दाइले जवाफ दिनु भयो,‘तीन हजार भाडा लिन्छ भनेको’ ।
छोराले कुरा लुकाएको छ भन्ने लागेर होला, एक छिन त दाइको मुख हेरिराख्नु भयो । कुरैको सिलसिलामा ठूलीआमाले ‘नानी केही गर्न सक्दिन, सबै दाइले गर्छ, मेरो स्याहारसुसारदेखि खाना पकाई खुवाउने सबै । छोराले साह्रै दुःख पायो । छोराको साह्रै चिन्ता लाग्छ । म मरेपछि मात्र तेरी भाउजू आउने रे ।’ म ढाडस मात्र दिन्थे, ‘तब त तपाईँले छोराको चिन्तै मान्नु पर्दैन । उहाँहरूको पुर्नमिलनको आशा राखौँ । बुहारी हुनु भएको भए पनि यतिको सेवा पाउनु हुन्थेन । संसारमा कस्ताकस्ता छोराबुहारी, छोरीहरू पनि छन् तपाईँले देख्दैसुन्दै आइरहनुभएको छैन र ठूलीआमा ?’, ‘छु तैपनि मन मान्दैन नानी’ भन्नु भयो ।
डेढघण्टाको बसाइपछि काठमाडौँ आउँदा फेरी भेट्न आउँछु भन्दै बिदा लियौँ । दाइले वरसम्म पुर्याउन आउनु भयो । दाइ, ठूलीआमालाई घरभाडा पाँच हजार लिन्छ भन्नु भएको छैन ? भनेर सोधेँ । दाइले आमाले महँगो भयो भन्नुहुन्छ भनेर आमालाई नभन्नु भएको रहेछ ।
प्रश्न गरिहाले—‘त्यसो भए दाइ तपाईँ अवकाश भइसक्नु भएको कुरा आमालाई भन्नु भएको छैन ?, यो भन्दा अगाडि हाम्रो भेट नभाको पनि होइन, मलाईसमेत थाहा दिनु भएन । आजभन्दा एक डेढवर्ष अगाडि तपाईँ कार्यरत रहेको कार्यालयमा तपाईँलाई भेट्न भनी गएकि थिएँ । त्यहाँ थाहा भो तपाईँ छ महिना अगाडि नै अवकाश भइसकेको कुरा । ‘हो नानी आमालाई अवकाश भइसकेको कुरा थाहा दिनसकेको छैन । आमाले थाहा पाउनु भयो भने उहाँको मृत्यु निश्चित छ । उहाँले अरूद्धारा थाहा पाउला भनेर नै कसैलाई नभनेको’ भन्दैगर्दा मेरो छाती भक्कानिँदै आँखामा आँसु टिलपिलाई सकेको थियो ।
दाइ आजभन्दा दुई वर्ष अगाडि सरकारी निकायमा कार्यरत हुनुन्थ्यो । एम.ए, वि.एल गर्नु भएको छ । कयौँ पटक अधिकृतमा बढुवाको लागि जाँच नदिएको पनि होइन । अवकाश हुनुभन्दा पाँच वर्ष अगाडि मात्र बढुवा हुनु भएको थियो । जति तलब बढे पनि महँगीले आकाश छुन्छ । तलब आए पिच्छे यता टाल्दा उता टाल्दा हात लागे शून्य हुन्छ । सोझो तरिकाले त्यत्तिकै तलबमा राम्रो लाउन खान र बस्न, छोराछोरीलाई राम्रो स्कुल तथा कलेजमा पढाउन, अाफ्नाे तथा परिवारको औषधि आदि गर्न कहाँ पुर्याउन सक्नु !
२०७२ मङ्सिर ८ गते बुधवारका दिन पुनः उहाँहरूलाई भेट्न भनी म मेरो छोरा र मेरी दिदी गएका थियौँ । उहाँहरूसँगको एक छिन भलाकुसारीपछि हामी उठ्ने तरखर गर्नमात्र के लागेका थियौँ, ठूलीआमाले छोरापट्टी हेरेर ‘अफिस जान ढिलो भएन ?’, भन्नु भयो । ‘भएको छैन’ भनी दाइले जवाफ दिनुभयो । दुई आमाछोराको संवाद हामी मुकदर्शक भएर सुनिराख्यौँ मात्र । ‘यहाँ सामान नअटेकोले उता पनि एउटा कोठा लिएकि छु, बहिनी जाऔँ त्यही बसेर कुरा गरौला’ दाइले बिस्तारै भन्नुभयो ।
कोठा पुग्नुभन्दा अघि म कल्पनामा डुबिरहेकी थिएँ । कतै भाउजूलाई उता राख्नु भएको त छैन दाइले ? पुगेपछि थाहा भो त्यो मेरो भ्रम मात्र रहेछ । यथार्थ यस्तो थियो— तीन तलामाथि, उज्यालो, चिटिक्क परेको कोठा, सोफा,टेबुल, किताब सजााइएको दुईवटा दराज, भित्तामा क्यालेन्डर, आफ्नाे नाम योग्यता उल्लेख भएको नाम प्लेट टेबुल माथि राखिएको छ भने केही पत्रपत्रिका पनि । पस्दा कुनै कार्यालयमा अफिसरको कोठामा पुगेको मलाई भान भयो । त्यसरी कोठा लिनु आमाकै लागि हो जस्तो लाग्यो । कार्यालयको समयमा घरबाट ‘अफिस गएँ आमा !’ भन्दै निस्किनु अनि त्यही कोठामा तीन चार घण्टाको बसाइपछि घर आइपुगेको बहाना गर्नु । यस्तै रहेछ दाइको दिनचर्या ।
दाइ इमान्दार, सोझो, मातृभक्त पितृभक्त हुनुभयो तर पत्नी र छोरीलाई न्याय दिन सक्नु भएन । दिन नसक्नु उहाँका कति बाध्यता थिए होला । विवाह पश्चात् अलगिएको पनि धेरै वर्ष भइसक्यो । दाजुभाउजूलाई मानसिक, शारीरिक र आर्थिक रूपले एक्लो जीवन काट्न कति कठिन भइरहेको छ भन्ने कुरा सहजै बुझेकी छु । दुवैले आफ्नाे हठलाई छोडी लचकता अपनाउनै पर्थ्याे ।
ढिलै भए पनि पुर्नमिलन होस् र बुढ्यौलीको समयमा एक अर्काको सहारा बन्नसकोस् कामना गर्दछु ।
“