चञ्चल (अनुभूति)

 

 

 

 

 

 

आज किन मन एकाएक फुरुङ्ग हुन्छ । डाँफे नाँचे झैँ, मयुर प्वाँख फिँजाएर नाँचे झैँ । म तिम्रो नामको ध्वनीमा छुट्टै मायाको स्पर्श पाउँछु । अन्धकार जीवनलाई आफैँ तानेर रङ्गीन जीवनमा धकेलेको जस्तो । मन पनि किन यति धेरै चञ्चल कुनै पाठो या पाठी भर्खर गाईको दुध खाई उफ्रेको जस्तो, भर्खर हिँड्न सिकेको बच्चा जस्तो, खुल्ला जङ्गलमा उफ्री उफ्री हिँड्ने हरिण जस्तो, खै कसरी के बयान गरुँ म स्वयंमलाई ।

तिम्रो नामको ध्वनी गुञ्जायमान हुँदा यति आनन्दको महसुस गर्छु की, मन्दिरमा बजाएको घण्टा बजेझैँ, अनि पूर्वकालीन कार्यमा शङ्ख बजेझैँ, तिम्रो ध्वनी मेरो कानमा पुग्दा यस्तो लाग्छ की मरुभूमिमा प्यासिएको व्यक्तिमा पानीले घाँटी भिजाएर तृप्त भएजस्तो । प्रचण्ड गर्मीमा चिसो हावा पाएर तृप्त भएजस्तो । आवाजमा नै त यति शक्तिसाली मायाको तरङ्ग छ भने जब यो आँखाको नानीको भेट त्यो मृग नयनीसँग हुँदा कतै म आकाशको बादलमा हराएझैँ हराउने त होइन ?

तिम्रो आकृति मेरो मनमा पसी छाप बनेर बसेको छ । भर्खरै डाँडाँबाट उदाइरहेको रातो र गोलो सूर्य जस्तो, बिहानीपखको चराचुरुङीको चिरविर जस्तो, साँझपख समुद्रको किनारामा मन्द हावा चलेको अनुभूति जस्तो, बिहानीको सूर्यको किरणले छालामा न्यानो स्पर्श दिए जस्तो, भोकले लखतरान भएको व्यक्तिमा खानेकुरा पाउँदा खुशी भएको पल जस्तो, यस्ता अनुभूतिहरुले लाग्छ कि तिम्रो आकृतिले मेरो पाँच वटै इन्द्रिय सुचारु बनाइदिएको छ ।

कहिले काहीँ त यस्तो लाग्छ, तिम्रो मायामा कुनै दशकौँ घोर तपस्या बसेको तपस्वी भन्दा पनि म आफैँ तेजस्वी हुँ । तिमीलाई वर्णन गर्नको लागि म शब्द कोषको भण्डारमा पौडिँदा पनि शब्दहरुको अभाव पाउँछु ।

तिम्रो आगमनसँगै जीवनमा थुप्रै आशा, परिकल्पना, सपनाहरु बसन्त ऋतुमा मौलाएका पातहरु झैँ मौलाएका छन् ।

मलाई विश्वास छ हाम्रो अन्तिम सास सम्म पनि तिम्रो आँलाहरु मेरोमा र मेरा औँलाहरु तिम्रोमा हुनेछन् । र त्यति मात्र नभई हाम्रा आत्माहरु अनन्त यात्रामा सँगसँगै हिँड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *