उखु खेतिले आम्दानी दिन थालेपछि धान खेति छोड्दै धनकुटाका कृषक

धनकुटा, चैत १३ । उखु खेतीले राम्रो आम्दानी दिन थालेपछि धनकुटा साँगुरीगढी गाउँपालिका वार्ड नं.– १ का कृषलकले धान खेती गर्न छाडेका छन् । धान खेतीको तुलनामा उखु खेतीले दोब्बर आम्दानी दिन थालेसँगै उखु डाँडाका किसानले धान खेती छाडेर व्यवसायिक रुपमा उखु खेती गर्न थालेका हुन् ।

तमोर नदीको किनारमा रहेको उखु डाँडा भौगोलिक हिसाबले समतल भू–भाग र सिँचाइको सुविधा राम्रो भएकाले यहाँका किसान धान खेती भन्दा उखु खेतीतर्फ आर्कषित बन्दै गएका हुन् । उखुको सिजनमा एकै पटकमा लाखौ रुपैयाँ आम्दानी हुने गरेको स्थानीय किसानहरु बताउँछन् ।

किसानले उखु विक्रीबाट वार्षिक १ करोड रुपैयाँको कारोबार गर्ने गर्छन् । सरकारी निकायको सहयोग र सल्लाह विनानै आफ्नै मेहेनतबाट यहाँका किसानले मनग्ये आम्दानी लिन सफल भएका छन् । किसानले प्रति लाख्रा उखुको मुल्य न्यूनतम ५० देखि ६० रुपौयाँ सम्म होलसेलमा बिक्री गर्ने र खुद्रा व्यापारीहरुले प्रतिलाख्रा १ सय देखि १ सय २० रुपैयाँ सम्म ग्राहकबाट लिने गरेका छन् ।

धान खेतीको तुलनामा उखु व्यवसायबाट राम्रो आम्दानी हुन थालेकाले आफूहरुले उखु खेती थालेको उखुडाँडाका स्थानीयवासी मागीश्वर लिम्वुले बताए । धान खेतीको सट्ठा उखु व्यवसाय गर्दा एकै सिजनमा पाँच लाख रुपैयाँ सम्म आम्दानी हुने भएकाले आफूले २१ रोपनी क्षेत्रफल खेतमा गेमर र पानमारे प्रजातिका उखु व्यवसायीक रुपमा खेती गदै आएको लिम्बुले जानकारी दिए ।

धनकुटाका किसानले उत्पादन गरेको उखु स्थानीय बजारमा नै खपत हुँदै आएको छ । कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा खण्डको मुलघाटमा सवारी साधनबाट ओहोरदोहोर गर्ने यात्रुहरुलाई खुद्रा व्यापारीले उखु बिक्री गर्ने गरेको स्थानीय व्यापारी लालसिंह खड्काले बताए ।

उखु डाँडा नजिकै रहेको मुलघाटमा दैनिक झण्डै २५/२६ जना खुद्रा व्यापारीहरुले उखु व्यवसाय गर्दै आएका छन् । यस बाहेक जिल्लाको सदुमुकाम धनकुटा वजार, हिले, सिधुँवा, पाख्रिवास, तेह्रथुम जिल्लाको वसन्तपुर वजार सम्म उखु निकासी हुने गरेको छ । कोशी राजमार्गको निर्माण भएसँगै यस क्षेत्रमा उखु खेती विस्तार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *