गणतन्त्रका लागि लडेको योद्धा गणतन्त्रमै जेलमा बस्नुपर्ने ?

काठमाडौँ, चैत ८ । जेल जीवन बिताइरहेका माओवादी नेता बालकृष्ण ढुङ्गेलले लेखेको गीति एल्बम ‘खाली खुट्टे’ विमोचन भएको छ । राजधानीको एक पार्टी प्यालेसमा ढुंगेलको अनुपस्थितिमै सो एल्वमको विमोचन गरियो ।

कार्यक्रमा माओवादी नेता पूर्व मन्त्री राम कार्कीको आतिथ्यता थियो भने कार्यक्रमको अध्यक्षता ढुङ्गेलकी जेठी छोरी विनिता ढुङ्गेलले गरेकी थिईन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला तथा जनयुद्धका क्रममा मारिएका रितबहादुर खड्काकी आमा मनमाया खड्काको पनि आतिथ्यता रहेको थियो ।

जब बिनिताले कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वागत गर्न आफ्ना भनाई राख्न थालिन् – पूरै हल नै स्तब्ध बन्यो ।  ‘गणतन्त्रका लागि लडेको योद्धा गणतन्त्रमै जेलमा बस्नुपर्ने भन्ने उनको प्रश्नले कार्यक्रमका सबैलाई अवाक बनाईदिएको थियो ।

उनले आफ्नो बाल्यकाल सम्झँदै भनिन् ‘म सानै थिए । मेरो बुबा माओवादी हुनु हुँदोरहेछ । मलाई थाहा थिएन । सबैका बुबा घरमा हुन्थे । मेरा बुबा भने घरमा थिएनन् । म र मेरी बहिनी कहिलेकाँही आमालाई सोध्थ्यौ–सबैका बुबा घरमा छन् हाम्रो बुबा चाँही खै त ? आमालाई यो प्रश्नले सारै पीडा हुँदोरहेछ ।’

उनले आफु सानै छँदा वुवा भुमिगत भएको र बाबालाई देख्न समेत नपाएको कुरा भावुक हुँदै सुनाएकी थिईन् । अरुका घरमा मिठोचोखो पाक्दा र अरु केटाकेटी बाबासँग खेल्दा आफुहरु भने वुवाको फोटो हेरेर बस्ने गरेको विनिताले सुनाईन् । उनले भनिन् ‘आमाले खाल्डो खनेर बुवाको फोटो गाड्नु भएको थियो, पछि सेनाले थाहा पाएर त्यही फोटो पनि लग्यो ।’

 

त्यसपछि फोटामा भेटेका बुबापनि हामीबाट टाढा भए । बालकृष्ण ढुुङ्गेलका छोरी भएकै कारण हामीले आफ्नो बाबाको फोटो पनि हेर्न पाएनौँ ।

उनले भावकु हुँदै भनिन् ‘मेरो घर नजिकै ठूलो ढुङ्गो थियो । एक दिन आमाले त्यही ढुङ्गामा गएर परको डाँडा देखाउदै भनिन् ‘तिम्रो बुबा त्यहि डाँडाबाट आउनुहुन्छ ।’ आमाले त्यति भनेपछि म र बहिनीको दिनचर्या त्यही ढुङ्गो हेरेरै बित्न थाल्यो । हामी बिहान–बेलुका फुर्सद भयो कि त्यही ढुङ्गोमा गएर बुबा आउनुहुन्छ कि भन्दै पुग्थ्यौं । तर बुबा कहिल्यै आउनु भएन ।’

विनिताले थप भावुक हुँदै थपिन् ‘समय बित्दै गयो, हामीलाई गाउँमा बस्न समस्या हुदै जान थाल्यो । यो बझपछि बुबाले हामीलाई काठमाडौ आउन भन्नुभयो । तर यहाँ पनि सहज भएन, हाम्रो जीवन । आमा ज्यामी काम गर्न थाल्नुभयो । म र बहिनी इन्दिरा रानामगरले सञ्चालन गरेको अनाथालयमा बस्न थाल्यौ ।

उनले भनिन् ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरुले मेरो मानवअधिकार किन खोज्दैनन् ?’ के मेरो मानवअधिकार हुँदैन र ? हुन्छ भने किन खोज्दैनन ?

त्यहि बेला बुबा जेल पर्नुभयो । उज्जन श्रेष्ठको हत्या आरोपमा । सबै शनिबार चिडियाखाना घुम्न जान्थे । म र बहिनी भने बुबालाई भेट्न जेलमा जान्थ्यौँ । त्यहाँ भएका प्रहरीले हामीलाई जिस्काउँदै भन्थे– ‘अब तिम्रो बुबा यही बस्छ । कहिल्यै छुट्दैन । माया मारे हुन्छ । हामी आमाको हात समातेर रुन्थ्यौं । आमाले हामीलाई सम्झाउनुहुन्थ्यो–‘होइन अंकलहरुले जिस्काएको मात्रै हो ।’

यही दैनिकी चलेसँगै बाबा जेलबाट छुट्नुभयो । त्यसपछि दुःखका दिन सकिएकी भन्ने लाग्यो । केहि आसा पलायो । त्यसपछि हामी पढ्ने स्कूलमा पनि बाबा जेलबाट छुटेको खवर पुगेछ । हामीलाई भन्न थालियो कि– ‘अब तिमीहरु ठूलो स्कूलमा पढ्छौ । कालो सिसा भएको गाडीमा हिँड्छौ । अब त तिमीहरुका पनि दिन आए ।’

हामीलाई भनेका सबै कुरा बुबालाई भन्थ्यौँ । त्यसैक्रममा बुबाले पहिलो संविधान सभाको चुनाव पनि जित्नुभयो ।

मैले बुबालाई घर बनाउन भने । उहाँले भन्नुभयो –म तिमीहरुलाई घर बनाउन चुनाव लडेको होइन । मेरो लक्ष्य भनेको ओखलढुङगाको समृद्धि गर्नुछ । मलाई सारै रिस उठ्यो – एउटा घर पनि नबनाइदिने भनेर ।

‘देशमा कम्युनिष्टको सरकार छ । गणतन्त्र दिवस मनाइन्छ । तर त्यहि गणतन्त्रका लागि लडेका एक योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ गणतन्त्र ?’ उनले पेचिलो प्रश्न गरिन् ।

उनले भनिन् ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरुले मेरो मानवअधिकार किन खोज्दैनन् ?’ के मेरो मानवअधिकार हुँदैन र ? हुन्छ भने किन खोज्दैनन ? ‘बुबाको अवस्था नाजुक छ । एउटा मृगौलाले काम गर्दैन । अर्को मृगौलाले २५ प्रतिशतमात्र काम गर्छ’ भावुक हुँदै विनिताले सुनाइन् ।

‘आज मेरो बुबाले धनसम्पति कमाएको भए सबै भेट्न जान्थे होलान् । तर सम्पत्ति नभएकाले आज केहिबाहेक भेट्न पनि जादैनन् । आज पनि सोध्न मन लाग्छ बालकृष्ण ढुङ्गेल जेल बस्नुपर्ने तर अरु छाती चौडा गरेर घुम्नुपर्ने कस्तो गणतन्त्र हो ?’”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *