बन्दुकसँग नानीहरु (कविता)
“
चौँरिले चर्ने पाटनजस्ता
नानीहरुका हरिया दिमाखले
निर्मम खाईरहेछन् गोलीका छर्राहरु
युग बदल्ने सपनाको सगरमाथा
ढलेको छ ढलानको जग नबस्दै
पाषाणहरुको क्रुर सभ्यता
हृष्टपृष्ट बनिरहेछ दिनदिनै
शान्तिको ठेक्का लिएका ठेकेदारहरु
नाचीरहेछन् हिटरलको बुढी औँलामा
यो समय नामुद आतंककारी
आमाको गर्भासयबाट
अप्रेसन गरेर निकालेको तानाशाही बालक हो
यो समय बुद्वको घाँटी रेटेर
बधशालामा मासु तौलने जल्लादको हो
यो समय निरहमाथी राज गर्ने
जंगली ब्वाँसाहरुको हो
ओ ! नानीहरु
छोड अब कलम समाउन
तिम्रो कलमले रोप्ने बिचारको बिऊ
खडेरीको छातीमा मरेको छ नपलाउने गरि
ओ ! नानीहरु
छोड अब कख र एबिसिडी पढ्न
तिमीले पढ्ने पवित्र मन्दिरहरु
भत्किन छोडेर भत्काइएकाछन् हिरोसिमाजस्तै
तिमीहरुले त सिकेर आउनु छ
आमाको गर्भासयबाटै नौ महिने परेड
ताकी तिमीहरुले जन्मने बित्तिकै
गर्न सिक–आत्म सुरक्षा
तिमीहरुले त समात्नु छ
कलमको सट्टामा बन्दुक
ताकी रणमैदानमा दुस्मनले हानेको तिर
आफ्नो छातीमा नपुग्दै
दुस्मनको छातीमा पुगोस् तिमीले हानेको छर्रा
तिमीहरुले त स्कुल नगएर उत्खनन् गर्नुछ
युरेनियमका खानीका खानी
ताकी भोली तिमीहरुको देश जलाउनुपहिले
तिमीहरु नै जलाउन सक साम्राज्यबादीहरुको देश ।”