आजदेखि एसईई परीक्षा सुरू, परीक्षामा ४  लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर, चैत ८ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

बिहीबार बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसईई परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी आजै परीक्षा केन्द्रमा पुगेर तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

यस वर्षको परीक्षामा ४  लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर गरी १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएको छ । जसअनुसार अनिवार्य विषय तर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको उहाँको भनाई थियो । परीक्षामा बाधा पुर्याउने र अमर्यादित कार्य गर्नेलाई १ लाख रुपैयासम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यबस्था गरिएको छ ।

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरु तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारवाही गर्न सक्ने अधिकार दिइएको छ ।

नियन्त्रक रेग्मीले परीक्षालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन स्थानीय तहका प्रतिनिधि एवं जनप्रतिनिधि लगायय सबै क्षेत्रलाई आव्हान गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *