मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पतिदेवसँग बिन्ती  (कविता)

 

 

 

 

 

 

 

छोपेर भय पछ्यौरीले
रोकेर अपमान चौबन्दीले
म सक्छु अझै खपेर प्रसव पीडा
जन्माउन उज्ज्यालो सभ्यता
यही मझेरी, यही आँगनमा
पतिदेव !
म फेरि एकपल्ट गर्भिणी हुन चाहन्छु।

संकटको घडी दौडिरहेछ
त्रासदको तानपुरा बजिरहेछ
आँगन चोक अनि
खेत बारीमा
विदीर्ण माटोको आँसु कट्कटाइरहेछ
बनेर बगरझैं धीर एकैछिन
यही संकटको मकलमाथि
ओछ्याएर जिजीविषाको आँचल
खडा गरौँ एउटा चौकोस -विश्वासको
र, बनाऔँ शुभ मुहूर्त -सम्भोगको ।

मलाई हरेक रात सपनीमा
भनेकी छन् स्वर्गवासी सासूले

दुलही माटो जोगाउन तिमीले
अन्धा धृतराष्ट र
भाइमारा दुर्योधन नकल्पिई
प्रमिथस सन्तानको गर प्राक्कल्पना
ताकि
बाँचेर पनि मरेकाहरूले
भेटून् धुरीको खाँबोमा स्थापित जिजीविषा
तिमीलाई माटोले गर्ने छ श्रद्धा
युगले पढ्छ फेरि योगमायाको कथा ।

तपाईंका गालामा बगेको
दुस्खको कर्णालीमा
मुहार हेरिरहेछन् भुइँमान्छेहरू
मेरा फुटेका कुर्कुचामा कोरिएको
देशको मानचित्रमा
सुरक्षा खोजिरहेकी छिन् प्रकृति
बुझाइहरू एकाकार बनाऔँ
पीडाहरू सामूहिक बनाऔँ
माथि बस्नेहरू
एकलव्य बुझ्दैनन्
तर बुझ्छन् द्रोणाचार्य
उनीहरू कृष्णलालको आवाज चिन्दैनन्
तर सम्मान गर्छन्
मकैको खेती बाल्ने निर्णय
पतिदेव !
मसँग छ अझै ऋतु दर्शन
पुरुषोत्तम हो, तपाईं
तपाईंसँग छ
धर्म, अर्थ,काम र मोक्ष
हामी डाँडामाथिको जून बन्नुअगावै
जन्माएर उज्यालो सभ्यता
सुम्पिनुछ माटोको काखमा
जहाँ
हाम्रो सन्तानले बुझोस्
शक्तिको सूक्ष्म भौतिकी
र बुझाओस्
टुप्पाबाट लेखिएको इतिहासको अवसान अनि
जराबाट लेखिने
किनाराका मान्छेको इतिहासको थालनी ।

पतिदेव
मान्छेहरूले विवेक गुमाउनुअगावै
हाम्रो विवेक अगाडि लाग्नुपर्छ
यदि गुमाए भने
सारा मान्छेहरूले विवेक
च्याँखेमा थापिदिन्छन् बुद्ध -बोधीसत्व
कुल्चिदिन्छन् विधि -विधान
लुटिदिन्छन् स्वतन्त्रता -स्वाभिमान
थुनिदिन्छन् नीति – नैतिकता
धमिल्याइदिन्छन् इमान-जमान
बेचिदिन्छन् राष्ट्र -राष्ट्रियता
त्यसपछि
हुन्छ संहार हाम्रो औचित्यको
हुन्छ उठिवास निजात्मकताको
पतिदेव  !
रात रहे अग्राख पलाउँछ
के देशको भलो सोच्नु
मेरो पागलपन हो र?”

प्रतिकृयाहरु
Loading...