जातीय विभेद तथा रङ्गभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौं, चैत ७ । जातीय विभेद तथा रङ्गभेद विरुद्धको ५३ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि आज मनाइदैछ । जातीय विभेद विरुद्धको लडाँईमा विविधताको लागि सहिष्णुता, समावेशिता, एकता र सम्मानको प्रवद्र्धन भन्ने विश्वव्यापी नारासहित आज विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

सन् १९५९ मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा भएको विरोध प्रदर्शनमा ६९ जनाको मृत्यु भएको सम्झनामा सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेयता हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९७१ मा सो महासन्धीलाई अनुमोदन गरेको थियो ।

२०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदले २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । यस्तै जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ व्यवस्थापीका संसदबाट पारित भइसकेपनि जातिका आधारमा गरिने भेदभावमा कमी आउन सकेको छैन ।

यद्यपी संविधानत: हाल राज्यका हरेक अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइएको छ ।  स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुका साथै राष्ट्रियसभामा प्रत्येक ७ प्रदेशबाट १/१ जनाको प्रतिनिधित्व गरि राज्यको मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको छ ।

यसैबीच दिवसको शुभकामना दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत कुसंस्कारका कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दु:खद रहेको बताउनुभएको छ । सरकारले आगामी दिनमा सबै समुदायलाई सम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *