चितवनका १० सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन

भरतपुर, चैत ६ । चितवन जिल्लाका १० वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन भएको छ । वैज्ञानिक व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्लाका १० वटा सामुदायिक वनको व्यवस्थापन गरिएको हो । दुई वटा सामुदायिक वन वैज्ञानिक व्यवस्थापनको पाइप लाइनमा रहेका छन् ।

‘चितवनका ६ वटा सामुदायिक वन ३ वर्षदेखि वैज्ञानिक व्यवस्थापनमा चलिरहेका छन् । चार सामुदायिक वन भर्खरै वैज्ञानिक व्यवस्थापन भएका छन् । दुई वटा सामुदायिक वन वैज्ञानिक व्यवस्थापन हुनको लागि अन्तिम तयारीमा पुगेका छन्’ जिल्ला वन कार्यालय चितवनका प्रमुख (डीएफओ) केदारनाथ पौडेलले भने, ‘चरणबद्ध तरिकाले जिल्लाका अन्य सामुदायिक वनलाई पनि वैज्ञानिक व्यवस्थापन गरिँदै लगिनेछ ।’

२०६८ सालबाट नेपालमा वैज्ञानिक वनको योजना सुरू भएको हो । पिप्लेको पशुपति कैलाशपुरी सामुदायिक वनलाई चितवनमा पहिलो पटक वैज्ञानिक व्यवस्थापन गरिएको हो । शिवशक्ति सामुदायिक वन पिप्ले, वनदेवी सामुदायिक वन, कंकाली सामुदायिक वन चैनपुर, अजिङ्गर सामुदायिक वन चैनपुर, अमृतधारा सामुदायिक वन राप्ती, दूधकोशी सामुदायिक वन राप्ती, सुरदेवी सामुदायिक वन, शिवपुरी सामुदायिक वन र शिखर सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन भएको छ ।

वैज्ञानिक व्यवस्थापन हुने अधिकांश सामुदायिक वन राप्ती नगरपालिकाका छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गणेश थापाका अनुसार कोराकको जनकल्याण सामुदायिक वन र थाकलटार सामुदायिक वन वैज्ञानिक व्यवस्थापनको पाइप लाइनमा रहेका छन् ।

जिल्ला वन कार्यालयका सूचना अधिकृत कृष्णप्रसाद पौडेलले वैज्ञानिक वन व्यवस्थापन प्रभावकारी बन्दै गएको बताए । उनले भने, ‘अन्य वन र वैज्ञानिक व्यवस्थापनमा भएको वनमा धेरै फरक हुन्छ ।’

वैज्ञानिक व्यवस्थापनमा बूढो रुख काटिन्छ । काटिएको ठाउँमा अर्को बिरुवा हुर्किरहेको हुन्छ । आगलागीबाट वनलाई जोगाउन फायरलेन बनाइन्छ । रुखबाट बीउ झरेर बिरुवा उम्रने वातावरण बनाइन्छ । चरिचरन हुन पाउँदैन । जुनसुकै रुख काट्न पाइँदैन । काटिएका रुखको गन्ती हुन्छ । कति रुख काटिए, कति उम्रे सबै हिसाबकिताब हुन्छ ।

कंकाली सामुदायिक वनका अध्यक्ष वेदबहादुर अधिकारीले वैज्ञानिक वन व्यवस्थापन भएपछि वनको मुहार फेरिएको बताए । उनले भने, ‘वैज्ञानिक वन व्यवस्थापनमा एकैचोटी रुख बूढो हुँदैन । एउटा काटिन्छ, अर्को रुख बढिरहेको हुन्छ ।’ उनले वैज्ञानिक व्यवस्थापन ज्यादै प्रभावकारी भएको बताए । मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले आईई (प्रारम्भिक वातावरणीय परीक्षण) गरेर पास गरेपछि वनलाई वैज्ञानिक व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ्छ ।

‘वैज्ञानिक वन व्यवस्थापन अत्यन्तै प्रभावकारी भएको छ । चितवनका २० भन्दा बढी सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन गर्न सकिन्छ’ वन कार्यालयका प्रमुख केदारनाथ पौडेलले भने, ‘२०६८ सालमा वनलाई वैज्ञानिक वनमा लैजाने कि नलैजाने भनेर मन्त्रालयमा लामो बहस भयो । त्यतिबेला गठन भएको एउटा समितिले वैज्ञानिक व्यवस्थापनमा लाने भन्ने निर्णय ग¥यो र पास पनि भयो । त्यो समितिको एउटा सदस्य म पनि थिएँ ।’ प्रमुख पौडेलले आफूले पास गरेको विषय अहिले २५ जिल्लामा लागू भएको खबर पाउँदा ज्यादै खुसी लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *