नेपाली कांग्रेसको पतनका कारक तत्व

कताबाट हो हजुर ? पार्टी कार्यालयबाट ! ए, को छन् नि पार्टी कार्यालयमा ? छन् पार्टी सभापति र अरु केही कार्यकर्ता ! नेताहरु के गर्दै छन् ? खासै केही गरेका जस्ता छैनन्, हैन चुनावको समीक्षा न त गाउँ कार्य समितिले गर्दछ न क्षेत्रीय समितिले, न जिल्ला समिति नै, अञ्चल समिति र केन्द्र तिर पनि त्यस्तै छ भन्छन् नि क्या हो यस्तो ? सुर्खेत जिल्ला बिरेन्द्रनगरको वडा ३ मा रहेको न्यु आचार्य चिया पसलमा एक हुल काँग्रेस कार्यकर्ता र स्थानीय नेताहरु एकापसमा मुख निन्याउरो लगाउँदै पार्टीको चिन्ता जनाउँछन् । साँझ बेलुकीको काम भनौँ वा बसी बियालोमा यसरी पार्टीका स्थानीय कार्यकर्ता पार्टीप्रति चिन्तित भएको धेरै समय भईसक्यो ।

काँग्रेसका स्थानीय कार्यकर्ताहरु यति बेला स–साना झुन्ड बनाएर हाट बजार र स्थानीय चिया पसलमा चियाको चुस्की लिँदै काँग्रेसको विगत र भविष्यका बारेमा चासो र चिन्ता व्यक्त गरिरहँदा पार्टी भित्रको गुट उपगुटको कुरा पनि गरिरहेका छन् । चिया पसलमा काँग्रेसहरु पौडेल र देउवा, सिटौला, थापा गुटका कुरा छताछुल्ल पार्न उद्यत छन् ।

आजभोलि काँग्रेसका कार्यकर्ताहरु दिशाहीन भएका छन् । पार्टी नेतृत्वले चुनाव पछिको समीक्षा नगरी पार्टीलाई एक ढिक्का बनाउन नसक्दा पार्टीभित्र डरलाग्दो गुटबन्दी मौलाउँदो छ । मैले यहाँ काँग्रेसका पात्र फेरिँदा व्यवहार न फेरिएको कुरा गर्न मात्र खोजेको हुँ । २००७, २०४६ हुँदै हालसम्म काँग्रेसका नाममा धेरैले कुरा गरी खाने, बेचिखाने काम मात्र गरे । राष्ट्र, समाजलाई एक ढिक्का बनाउने काम कमैले गरे ।

नेपाली काँग्रेस यो राष्ट्रकोे सुनौलो भविष्य हो वा होइन त्यसमा बहस गर्दै जाउँला, जसले इतिहासमा सिन्को भाँचेनन् तिनै पात्र काँग्रेसको बुई चढेर झन्डा ओढेर सत्तामा गए । मधेशीहरु आन्दोलनमा थिए अथवा अरु कोही थिए सायदै कम थिए, अरुलाई पनि लतार्दै लैजानु पर्दाको याद सबैलाई थाहा होला । हामी पुरानै कुरामा रमाउँदै गयौँ समयलाई चिनेनौ कि ? हामी कपाल फुलेका दाईहरुबाट पीडित मात्रै भयौ वा केही सिक्यौँ यसको आत्मबोध गर्ने बेला, समीक्षा गर्ने बेला आएको छ ?

म २०४६ को सुरुबात पछि स्कुले जीवन कक्षा ६ मा पढ्दै गर्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको हुँ । हाल एमफिल तहको अध्ययन गर्दासम्म मैले कहिले पनि पार्टी प्रशिक्षणमा न त जाने अवसर पाएँ न मलाई कुनै स्थानमा बोलाइयो । तथापि, म मेरो स्वविवेक र काँग्रेस प्रतिको आस्था वा निष्टाका कारण हरेक स्थानमा उपस्थित हुने, हरेक कार्यक्रममा सहभागी हुने गरेको छु । मैले अहिलेसम्म पार्टी प्रशिक्षण नलिँदा पनि भाषण गरेकै छु, नेता कार्यकर्तालाई प्रशिक्षण दिएकै छु । यतिमात्र हैन नेपाली काँग्रेस पार्टीका भातृ सङ्गठनको जिम्मेवारी पनि कुशलता पूर्वक सम्हालेकै छु । सञ्चारमाध्महरुमा विपीको समाजवादका बारेमा कुरा गरेकै छु । चुनावी रणनीति बनाउन सहयोग गरेकै छु ।

२०१५ र २०४८ को आम निर्वाचन पछि गुटबन्दी कहाँ र कसले सुरुबात गर्‍यो ? पार्टी नेताको बर्खिलापमा को गयो ? गणेशमान, कृष्णप्रसाद, शैलजाहरुलाई कसले रुबायो ? गणतन्त्रको नारा लगाउनेहरुलाई कसले कार्वाही गर्‍यो ? किन गुट भन्दामाथि उठेर निर्वाचनमा टिकट वितरण गरियो ? हो, यहीँबाट काँग्रेसको पतन सुरु भएको हो । अहिले एउटा पात्रलाई मात्र दोष दिएर सिङ्गो पार्टीका ठालु नेताहरु पन्छिन मिल्दैन ।

यति धेरै पढेको मानिसले कस्तो फुर्ती लगायो होला भन्नु होला । मैले यो लेख मार्फत नेपाली काँग्रेसले आम काँग्रेस कार्यकर्ताको मनोभावना समेट्न सकेन भन्ने लागेको मात्र हो । अहिले काँग्रेस सुध्रिकरणमा छ भन्छन् । काँग्रेसका युवा नेता र आम कार्यकर्ता माथि पार्टीलाई रसातलमा पुर्‍याउने की सगरमाथामा पुर्‍याउने ठुलो जिम्मेवारी आएको छ । सायदै इतिहासमा नेपाली काँग्रेस यति कमजोर र अस्तब्यस्त कहिल्लै थिएन ।

जतिबेला गिरिजा प्रसादले आफ्नै दुई तिहाइ सरकारलाई ढाल्ने काम गरे । काँग्रेसमा त्यही दिनबाट भाइरस छिरेको थियो । काँग्रेसमा त्यही दिनबाट शुद्धिकरण अभियान चाल्नु पर्दथ्यो । नेपालमा स–साना झुण्डमुन्डमा उदाएका कम्युनिस्टले गणतन्त्रको नारा लगाइरहँदा काँग्रेसले राजा सहितको प्रजातान्त्रिक देशको वकालत गर्दा अहिलेको हविगत भएको हो । यदि काँग्रेसले त्यत्ति बेलै जनचाहनाको कदर गरेको भए विश्व मानचित्रमा हराउन लागेका कम्युनिष्टहरुले नेपालमा उदाउने हिम्मत गर्दैनथे ।

काँग्रेसले वामपन्थीहरुलाई नजर अन्दाज गरेका कारण र सत्ताको रसपानमा भुक्त भएका कारण नै अहिलेले अवस्था आएको हो । अझ शेरबहादुर देउवाले पार्टी नै फुटाएर बाहिरिँदा इमान्दार काँग्रेस कार्यकर्ताको मनोबल धुलासित भएको जगजाहेर छ । स्व. गिरिजाप्रसादले हतियारको राजनीति गरी जङ्गल पसेकालाई शान्ति प्रक्रियामा ल्याउँदै टुक्रिएको काँग्रेसलाई एउटै रुखको छहारीमा ओत लाग्ने त बनाए तर, पार्टीसँगै कार्यकर्ताका फाटेका मन सिलाउने प्रयास गरेनन् । फलस्वरुप अहिले गिरिजा प्रसादको अवसानसँगै काँग्रेस पुनः धुजाधुजा हुने अवस्थामा छ ।

केही वर्ष यता पार्टीमा गुट उपगुटले पश्रय पाएको छ । काँग्रेसको सिद्धान्त र वीपीको विचार हराउँदै गएको छ । जातीय गुटबन्दी, पुजिँपतिहको हैकम, ब्यापारीहरुको प्रवेशले काँग्रेसलाई अझ रसातलमा पुर्याईदियो । अहिले यिनै साहु र पुजिपतिहरु ‘बनमारा’ जस्तो पार्टीमा फैलिएर काँग्रेसलाई निमिट्यान्न पार्न उद्यत छन् ।

अहिले केही कांग्रेसी शेरबहादुरका विरुद्धमा भाषण दिइरहेका छन् । केही नयाँ नेतृत्वको कुरा गरिरहेका छन् । धेरैले सभापति कारण पार्टीले हार ब्यहोर्यो भन्दै छन् । २०१५ र २०४८ को आम निर्वाचन पछि गुटबन्दी कहाँ र कसले सुरुबात गर्‍यो ? पार्टी नेताको बर्खिलापमा को गयो ? गणेशमान, कृष्णप्रसाद, शैलजाहरुलाई कसले रुबायो ? गणतन्त्रको नारा लगाउनेहरुलाई कसले कार्वाही गर्‍यो ? किन गुट भन्दामाथि उठेर निर्वाचनमा टिकट वितरण गरियो ? हो, यहीँबाट काँग्रेसको पतन सुरु भएको हो । अहिले एउटा पात्रलाई मात्र दोष दिएर सिङ्गो पार्टीका ठालु नेताहरु पन्छिन मिल्दैन ।

मलाई झल्झली थाहा छ । नयाँ नेपालको परिपकल्पना गर्दै नेतृत्व गर्न भनेर बहुसङ्ख्यक युवा बालुवाटार जाँदा ती युवालाई रुवाउँदै फर्काइएको थियो । अहिले काँग्रेसलाई तीनै युवाहरुको श्राप लागेको हो । म बालुवाटार भित्रको एउटा कुनामा बसिरहँदा ‘दाइ जय नेपाल, यो पौड़ेल समूह को, यो सिटौला, अनि यो देउवा समूहको हो’ भन्दै ट्याग लगाईदै थियो । ‘चुनाव हारेपनि टिकट त मैले नै पाउनु पर्छ’ भन्नेहरुको हाबी थियो । त्यहाँ चुनाव कसरी जित्ने हैन टिकट कसरी हत्याउने योजना हुन्थ्यो । छलफल, योजना हैन आरोप, प्रत्यारोप र घोचपेच अनि दाउपेच हुन्थ्यो ।

हरेक साँझ, बिहान मन्त्रीका क्वाटर र घरमा टिकट मात्रै माग्नेहरुको लर्को हुन्थ्यो । त्यहाँ कसैले चुनाव कसरी जित्ने, कसरी जनाधार बनाउने छलफल गर्ने हिम्मत गर्दैनथे । हो, यस्तै गुट र व्यक्तिगत स्वार्थका लागि चारतारे झन्डाको छहारी खोज्नेहरुले काँग्रेस र देशलाई बिगारेका हुन् । यदि सबैले टिकट लिईरहँदा पार्टी र देशलाई कसरी बचाउने भनेर चिन्ता व्यक्त गरेको भए अहिले यो अवस्था आउने थिएन । बम्पर उपहार जस्तो जसले धेरै टिकट किन्यो, त्यसलाई पुरस्कार परेजस्तो गरी टिकट बाँड्दा त्यहाँ पार्टी हैन पैसा र व्यक्ति हाबी भईदिन्छ । सिद्धान्त हावा खान्छ । काँग्रेसमा भएको त्यही हो ।

हामीलाई यसरी प्रशिक्षित गरियो की हामीले काँग्रेस भन्दा पनि गुटको मानिसलाई चुनाव जिताउनु थियो । खाली कार्यक्रममा को अतिथि हुने, कसलाई बोल्न दिने कसलाई बस्न नदिने यस्तै बकम्फुसे कुरामा पार्टी भित्र साँझ बिहान छलफल हुन्थ्यो । तर, यता संयुक्त वामपन्थी पार्टीका उम्मेद्वारहरु रणनीतिका कुरा गर्थे, विकासका कुरा गर्थे, अनि बाम गठबन्धनका कुरा गर्थे । हामी भिजन लेस भएर मैदानमा जाँदा प्रत्यासी उम्मेदारको उछित्तो काढ्थ्यौं । उनीहरु शान्ति संवृद्धि र दुईतिहाई सरकारको कुरा गर्थे । आखिरमा बोल्नेको पिठो बिक्यो नबोल्ने काँग्रेसको चामल पनि बिकेन ।

हामी कांग्रेसीहरु आत्मघाती गोल गरिरहेका थियौँ । वामपन्थी झगडा गर्लान र जितौला भनेर बसेका हामी चित आयौँ । जनमत एकातिर टिकट अर्कोतिर अर्थात् यसपटकको निर्वाचनमा नेपाली काँग्रेसको हालत ‘काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर’ जस्तो भयो ।

अब कसरी जाने

अब काँग्रेस भित्र व्यापक सुद्धिकरणको आवश्यक्ता छ । सुरुबातमा नै गुट भत्काएर हटाऊँ । पार्टीका जिल्ला, गाउँ, क्षेत्र र स्थानीय तहमा भएका कामको अनुगमन गरौँ । पार्टीमा अनुशासन, नीति र सिद्धान्तलाई अक्षरसः लागू गरौँ । हरेक तहमा नियमित बैठक बसालौँ । चुनावी समीक्षा गरी अबको पाँच वर्ष पार्टी पुर्नसंरचना अभियान थालौँ । कार्यकर्तामा ऊर्जा भर्न गाउँगाउँ टोलटोलमा सक्रियता बढाऊँ ।

पाखण्ड र घमण्ड हटाई पार्टीको विकासमा लागौँ र लगाऊँ । अब हामी प्रतिपक्षमा रहेकाले राज्यका हरेक निकायमा नियमित अनुगमन गरौँ, सरकारका सकारात्मक कामको समर्थन गरौँ नकारात्मक क्रियाकलापको खबरदारी गरौँ । विपक्षीसँग तथ्य र तथ्याङ्क सहित प्रस्तुत हुने गरौँ । नेता कार्यकर्तामा ‘म सच्चिए पार्टी सच्चिन्छ, म सुध्रिए पार्टी सुध्रिन्छ’ भन्ने भावनाको विकास गरौँ । यसरी अगाडी बढ्दा देश अगाडी बढ्छ पार्टी अगाडी बढ्छ ।

नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि दुल्लु नगरपालिका वडा नंं ४
१३ औँ महाधिवेशन प्रतिनिधि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *