धर्म संरक्षणको लागि सवा लाख शिवलिङ्ग

नारायणगढ, चैत ३ । पछिल्लो समय धर्म परिवर्तन गर्ने प्रचलन बढ्दै जाँदा नारायणगढमा भने धर्म संरक्षणको लागि सवा लाख शिवलिङ्ग निर्माण गरिएको छ । नेपालका जनताले अझै पनि विभिन्न कारणले सुख शान्तिको महसुस गर्न नपाएकाले शान्तिको कामनाको लागि पनि शिवलिङ्ग निर्माण गरिएको हो ।

सानासाना शिवलिङ्गबाट एउटा महाशिवलिङ्ग बनाइएको हो । शिव साधक श्रेष्ठकै संकल्पमा पाँच जना मिलेर शिव लिङ्ग बनाइएको हो । एक लाख संकल्पकर्ताबाट र २५ हजार शिवलिङ्ग भक्तजनहरूबाट गरी सवा लाख शिवलिङ्ग निर्माण गरिएको उनले बताए ।

शिव साधक श्रेष्ठले पहिलो पटक यति धेरै शिवलिङ्गको एउटै महाशिवलिङ्ग बनाइएको जानकारी दिए । २०७० सालमा ९३ दिन शिव साधनामा बस्दा ध्यानबाट भोलेबाबाले वाणी दिएपछि वाणीमा नारायणी नदी किनारमा लोकेशन दिइएकोले नारायणी नदी किनारमै शिवलिङ्ग बनाइएको उनले बताए ।

महाशिवरात्रीमा ११ जना ब्रम्हाणबाट लघुरुद्री र फागुन २८ गते ६१ जना ब्राम्हणबाट महारुद्री गरिसकेपछि अहिले पुराणको कार्यक्रम सञ्चालन भइरहेकोछ । चैत ११ गते रामनवमीको दिन सवा करोड द्वीप प्रज्ज्वलन गरेर नदीमा विसर्जन गराउने उनले बताए ।

‘समस्त लोकमा भएका प्रेत आत्मा तथा पितृहरूलाई मुक्त गराउनको लागि पनि शिवलिङ्ग निर्माण गरिएको हो,’ उनले भने, ‘दैनिक पूजापाठ र भजनकीर्तनबाट वायुमण्डलमा भएका अन्य प्राणीले पनि दर्शन गर्न पाउँछन् ।’ ३५ दिन समय खर्चेर सवा लाख शिवलिङ्ग निर्माण गरिएको उनले बताए । शिवलिङ्ग निर्माणको लागि करिब ११ लाख रूपैयाँ खर्च भएको अनुमान छ । शिवलिङ्ग निर्माण गरेर पुराण लगाउँदा आकाशमा उड्ने पंक्षीले पनि दर्शन गर्न पाउने धार्मिक मान्यता रहेको उनले बताए ।

पछिल्लो समय मानिसहरूमा धर्मप्रतिको आस्था र विश्वास पनि कम हुँदै गएकोले धर्म रक्षाको लागि पनि यो काम गरिएको उनको भनाइ छ । नारायणी किनारमा बनाइएको सवा लाख शिवलिङ्गमा अहिले पनि भक्तजनहरूले दैनिकरूपमा दर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *