नारायणगढ बजारलाई झिलिमिली पारिने, यसरी हुँदैछ काम

भरतपुर, चैत ३ । भरतपुर महानगरले नारायणगढ बजारलाई झिलिमिली पार्ने भएको छ । लामो समयसम्म बिग्रिएको सडक बत्ती मर्मत गरेपछि अबदेखि नारायणगढ बजार रातिमा पनि झिलिमिली हुने भएको हो ।

पुरानो बत्ती कुनै पनि नबल्ने हुँदा सबै पोलमा नयाँ बत्ती राखेर झिलिमिली पारिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । उनका अनुसार करिब डेढ लाख रूपैयाँ खर्च हुने देखिएको छ । ‘सडकबीचको पोल धेरै अग्लो हुने भएकोले निजी क्षेत्रको क्रेन प्रयोग गर्नुपरेकोले बढी खर्च हुने देखिएको छ,’ उनले भने, किनभने हामीसँग त्यस्ता सवारी साधन नै छैन ।’

भरतपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण भरतपुर शाखा र भरतपुर महानगरपालिका वडा नं.३ को संयुक्त प्रयासमा सडकमा बत्ती जडान गरेर झिलिमिली पार्न लागिएको हो । देशकै मुख्य भागमा रहेर पनि पूर्वपश्चिम राजमार्गको नारायणगढ बजारमा रातको समयमा अँध्यारो हुने हुँदा सुरक्षा व्यवस्थापनमा समेत चुनौती थपिएको थियो ।

तर, अब बजारको मुख्य राजमार्ग क्षेत्रमा रातभर पनि उज्योलो हुने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा समेत टेवा पुग्ने विश्वास लिइएको छ । अहिले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्मको पोलमा नयाँ बत्ती राख्ने काम भइरहेको छ । बत्ती राखेपछि रातिको सुरक्षा व्यवस्था पनि सहज हुने देखिएको छ ।

महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्नको लागि सडक बत्ती पनि आवश्यक भएकोले तत्काल काम थालेको भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डितले बताए । ‘यो पनि स्मार्ट सिटीको विकासको संकेत हो,’ उनले भने, ‘अबदेखि नारायणगढ बजारमा चौबीसै घण्टा उज्यालो हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *