कार्यकाल सफल बनाउने प्रतिवद्धता सहित मन्त्रालय सम्हाले नवनिर्वाचित मन्त्रीहरुले

काठमाडौं, चैत ३ । नवनिर्वाचित मन्त्रीहरुले आफ्नो कार्यकाल सफल बनाउने प्रतिवद्धता सहित मन्त्रालय सम्हालेका छन् । हिजो पद तथा गोपनियताको शपथ ग्रहण गरेसंगै नवनियुक्त मन्त्रीहरुले आ आफ्नो कार्यभार सम्हालेका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आर्थिक वर्ष २०७५/७६ मा सम्पादन गर्ने कामहरूको प्रस्तावलाई स्वीकृति दिनुभएको छ ।

आफ्नो कार्यकालमा चीन र भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लग्ने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता उहाँले जनाउनुभयो । ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै वर्षमान पुनले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको प्रगतिको लागि आफूले सबै खाले उपाय अबलम्बन गर्ने बताउनुभयो ।

न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै शेरबहादुर तामाङले संविधानको मर्मअनुसार आवश्यक कानून तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटकलाई नेपाल ल्याउन आवश्यक पर्ने विमानस्थल निर्माणलाई तीव्रता दिन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कृषि, भूमि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिदै चक्रपाणी खनालले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको र त्यसका लागि आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी समहाल्दै रघुवीर महासेठले आगामी ५ वर्षभित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनियुक्त वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुशासन आफैँबाट कायम गर्नुपर्ने बताउनुभयो । नवनियुक्त खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *