बेपत्ता भएकी छोरी खोजिदिन बुबाको आग्रह

इनरुवा, चैत २ । तीन साताअघि बेपत्ता भएकी छोरीको अवस्था अज्ञात रहेको भन्दै पत्रकार सम्मेलन गरी एक बाबुले आफूलाई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

आफ्नी १८ वर्षीया छोरीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकार सम्मेलन गरी सरोकारीसमक्ष गुहार मागेका हुन् ।

पीडित पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता भएकी भनिएकी मनिताकुमारी मेहताका बाबुले कप्तानगञ्जका शिवकुमार मेहताले परिवारको मिलेमतोमा छोरी बेपत्ता पारेको आरोप लगाएका छन् ।

घटनाबारे प्रहरीमा समेत उजुरी गरेको बताउने पीडित पक्षले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेको छ । आर्थिक अवस्था कमजोर रहेको र आफू असक्षम रहेकाले छोरीको खोजीमा हिँड्न नसकेको पीडित पक्षको भनाइ छ ।

पीडितका बाबुले प्रहरीले छोरी खोज्न आफैँ जान र भेटेपछि जानकारी गराउन भनेको बताए । पीडित पक्षले छोरीलाई केटाको आफन्तको बसोबास रहेको भारतको पञ्जाब लगेको हुनसक्ने आशंका गरेको छ । केटा पक्षका आफन्तले छोरी फिर्ता लैजाने भए रु १० लाख रकम दाबी गरेको समेत पीडित पक्षको आरोप छ ।

पीडित परिवार प्रहरीसमक्ष पुगेको जानकारी पाएपछि पीडक पक्षले मनिता बिरामी भई अस्पताल भर्ना भएको र उनको मृत्यु भएको जानकारी गराएकाले घटना थप रहस्यपूर्ण बनेको पीडितका आफन्तको भनाइ छ । उता सुनसरी प्रहरीले भने शिवकुमार र मनिताबीच प्रेम रहेको र दुवै भागेको कुरासमेत आएको जनाएको छ ।

घटना प्रेम सम्बन्धको भएपनि दुवै पक्षलाई झिकाएर परिवारलाई खोजीमा लाग्न भनेपनि प्रहरीको सुक्ष्म अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमोरियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *