चितवनमा गर्मी बढेसँगै तीन रोगको खतरा

भरतपुर, चैत १ । चितवनमा गर्मी बढेसँगै तीन रोगको बढी खतरा रहन्छ । डेंगु, चिकेनगुनिया र स्क्रबटाइफसको खतरा चितवनमा वर्सेनि हुन्छ ।

‘चितवनमा गर्मी बढेसँगै तीन रोग बढी देखिन्छ, अब गर्मी लाग्यो यी रोगहरु देखिन सक्छन्’ जिल्ला जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, ‘खास गरी गर्मी बढेसँगै यहाँ डेंगु, स्क्रबटाइफस र चिकेनगुनियाको खतरा बढी हुन्छ । यी तीन रोगप्रति सबै सजग हुन जरुरी छ ।’

‘चितवन देशकै मध्येभागमा छ, यहाँ देशभरका मानिसहरुका आउनेजाने क्रम बढी हुन्छ, त्यसैले पनि यहाँ विभिन्न नयाँनयाँ रोगहरु देखिन्छन्’ जनस्वास्थ्य कार्यालयका फोकल पर्सन अनुप अधिकारीले भने, ‘भरतपुर मेडिकल सिटीमात्र नभई रोगको सिटी बन्दै गएको छ ।’

चितवनमा वर्सेनि डेंगु रोगीहरु बढ्दै गएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको छ । ०७२/०७३ मा चितवनमा ८५ जनामा डुेंगु देखिएको थियो, जसमा एकजनाको ज्यान गएको थियो । ०७३/०७४ मा ६८७ जनामा डेंगु देखियो, जुन वर्ष एक जनाको मृत्यु भयो । यो आर्थिक वर्ष यता ५७ जनामा डेंगु भेटिएको थियो । यही वर्ष डेंगुबाट एकको मृत्यु भयो ।

चितवनमा ०७२/७३ मा ३३ जनालाई स्क्रबटाइफस देखिएको थियो । जसमा १ जनाको मृत्यु भयो । ०७३/७४ मा स्क्रबटाइफसको संक्रमण ५०९ जनालाई देखियो । जसमा ४ जनाको मृत्यु भयो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केशीका अनुसार यो आर्थिक वर्ष यता ३७२ जनामा स्क्रबटाइफसको संक्रमण भेटिएको थियो । जसमा ७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा २ जना चितवनका थिए ।

‘स्क्रबटाइफस पुरुषमा भन्दा महिलामा बढी देखिएको छ’ भेक्टर कन्ट्रोल निरीक्षक केशीले भने, ‘महिलाहरु करेसाबारीमा र मलखादहरुमा काम बढी गर्ने हुनाले उनीहरु नै स्क्रबटाइफसबाट बढी संक्रमित रहेका छन् ।’ उनका अनुसार डेंगु, चिकेनगुनिया र स्क्रबटाइफसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

चिकेनगुनिया भएपछि डेंगुकै लक्षण ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, जोर्नीहरु बढी दुख्ने हुन्छ । चिकेनगुनिया सार्ने लामखुट्टे टायर, गमलाको सफा पानीमा बस्छ । ‘डेंगु र चिकेनगुनियामा खासै फरक छैन, सार्ने लामुखट्टे पनि एकै हुन्’ निरीक्षक केसीले भने ।

‘वर्सेनि कीटको अभाव हुन्छ’

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा स्क्रबटाइफस, डेंगु र चिकेनगुनिया परीक्षण गर्न कीटको अभाव वर्सेनि भइरहेको छ । ‘हामीसँग पर्याप्त कीट कहिल्यै भएन, एकदम सीमित मात्रामा आउने गरेको छ’ जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, ‘रोगको सिजन सुरु भयो, अहिले पनि परीक्षण गर्ने कीटको अभाव छ ।’ कीट माग गर्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पत्र पठाए पनि पर्याप्त नआएको प्रमुख झाले बताए ।

यी सबैको मुख्य लक्षण भनेको ज्वरो हो । त्यसैले पनि ज्वरोलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् । ‘चितवन देशकै मध्येभागमा रहेको छ, सबै ठाउँका मान्छेको यस जिल्लामा आउजाउ हुन्छ, त्यसैले पनि यो जिल्लामा रोगको जोखिम बढ्दो छ’ जनस्वास्थ्य प्रमुख झाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *