‘संसदमा संख्याले होईन, क्षमता र योग्यताले प्रतिपक्षी बलियो हुन्छ’

काठमाडौं, फागुन ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विभिन्न विषयका विज्ञले सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विषयबस्तुको प्रस्तुतीले प्रतिपक्षी बलियो हुने बताए । नेमकिपाको उदाहरण दिँदै पौडेलले संसद्मा संख्या हैन, क्षमता र योग्यताका आधारमा प्रतिपक्ष बलियो हुने बताए ।

पुष्पकमल दाहाल सरकारको पालाको रुक्मांगद कटवाल प्रकरण स्मरण गर्दै प्रतिपक्षी बलियो भएकै कारण त्यसबेला प्रचण्डले राजीनामा दिनुपरेको प्रशंग उनले उल्लेख गरेका थिए ।

पौडेलले बैठकमा जाँदा तयारी गरेर जान सांसदहरुलाई निर्देशन दिए । “विरोधका लागि विरोध गर्ने हैन, तर्कसहितको विरोध गर्नुपर्छ । समस्यालाई कसरी उठाउने भनेर अध्ययन गर्नुपर्छ, विषयवस्तुबारे बुझ्नुपर्छ,” पौडेलले भने, “सांसदहरु समसामयिक राजनीतिक, सामाजिक, आर्थिक विषयवस्तुबारे सधैं अपडेटेड रहनुपर्छ । विषयवस्तुबारे जानकार रहनुस्, थाहा छैन भन्ने विज्ञसँग सल्लाह लिनुस् ।”

पार्टी सभापित शेरबहादुर देउवाले जनताले अहिले कांग्रेसलाई हेरिरहेकाले जिम्मेवार हुन सांसदहरुलाई निर्देशन दिए । “अहिलेको चुनावमा कांग्रेसलाई भोट नहाल्ने जनतालाई पाँच वर्षपछिको चुनावमा भोट हाल्ने बनाउनुपर्छ,” देउवाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *