मेयरलाई गोली हानेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

काठमाडौं, फागुन २९ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आशंकामा विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको पुष्टि गरे । अन्य आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले उनी माथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको थियो ।

यसअघि, नेकपाले बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेहरुलाई बचाउन खोजेको भन्दै मेयर चौधरीलाई राजीनामा दिन विज्ञप्तिमार्फत दबाब दिएको थियो । नेकपाको कैलाली पार्टी कमिटिले जारी गरेको विज्ञप्तिमा अन्यथा उनीमाथि जनकारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । उनले गम्भीर अपराधलाई पनि सामान्य रुपमा लिएको आरोप लागेको थियो ।

तर शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरेका थिए । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताएका थिए ।

बोक्सीको आरोपमा किशोरीमाथि कुटपीट गर्ने विरुद्ध जाहेरी नलिने प्रहरी पनि कारवाहीमा परिसकेका छन् । अहिलेसम्म घटनामा आरोपित तीन जना पक्राउ परेका छन् । र, दुई जना विरुद्ध मुद्दा नै दर्ता भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *