अपडेट–दुर्घटनाको कारण : कन्ट्रोल रुमको आदेश विपरीत ल्याण्डिङ

काठमाडौं, फागुन २८ । दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको कारण विमान दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार कन्ट्रोल रुमको आदेश विपरित पाईलटले गलत दिशाबाट विमान ल्याण्डिङ गरेका थिए ।

विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’ त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।

अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आयो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।

विमानस्थल प्रशासनले दुर्घटनाको कारण गलत रनवेतर्फ अवतरण बताएपनि दुर्घटनाको वास्तविक कारण छानविन पछि मात्रै थाह हुनेछ ।

विमान ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ह्याङगरमा ठोकिन लागेको र रन वेको सेन्टरमा ल्याण्ड भएको भए पनि विमान चालकले पार्किङमा रहेका विमानतर्फ ठोक्किनबाट विमानलाई जोगाएको विमानस्थलका कर्मचारी बताउँछन् ।

प्रत्यक्षदर्शीका अनुसार विमानस्थल छेउको घरमा समेत विमान ठोक्किन लागेजस्तो देखिएको थियो । तर, कुनै पनि घरहरुमा क्षति भएन । र, घरहरुमा वा अन्य विमानहरुमा नठोक्किई विमानस्थलको साइडमा पुगेर विमान जल्यो ।

विमान दुर्घटनाबाट निकै ठूलो मानवीय क्षति भएको छ । तर, संवेदनशील ठाउँमा झरेर जलेको विमानले अन्य संरचनालाई भने क्षति पु‍र्याएन ।

यसैबिच विमान दुर्घटनाका कारण स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *