ओलीलाई गगन थापाले संसदमा यसरी थर्काएका थिए (भिडियाे सहित)

सम्माननीय सभामुख महोदय,
जननायक वी. पी कोइरालाले २००५ सालमा नेपाली काँग्रेसको ध्येयको बारेमा स्पष्ट पार्दै एउटा विषय लेख्नु भएको थियो । नेपाली काँगे्रस पार्टीको स्थापनाको एउटा ध्येय छ । हामी जनताबाट निर्वाचित प्रतिनिधीहरु छान्न चाहन्छौँ । ती प्रतिनिधीहरुको संस्थाबाट सरकार बनाउन चाहन्छौँ । त्यो सरकार जनताबाट निवार्चित प्रतिनिधीहरुको संस्थाप्रति उत्तरदायी हुनेछ ।

हामीले त्यसको संसद बनायौँ । महाराजले संसद खाइदिबक्स्यो । हामीले फेरी बनायौँ, फेरी महाराजले खाइदिबक्स्यो । आज लामो संघर्ष पछाडि हामीले हाम्रो संविधानमा लेखेका छौँ ।

बहुलबादमा आधारित बहुदलिय प्रतिस्पर्धात्मक संघीय लोकतन्त्रिक गणतन्त्रात्मक संसदिय सासन प्रणाली नै नेपालको शासकिय स्वरुप हुनेछ । आज यो ठाउँमा उभिएर प्रधानमन्त्रीज्यू लगायत अन्य सबै नेताहरुले मान्यज्यूहरुले यो प्रति आफ्नो प्रतिबद्धता जनाउनु भएको छ । हामी खुसी छौँ, तर सन्तुष्ट छैनौँ । महाराजले पटक पटक खाइदिबक्सेको हुनाले गर्दा हाम्रो मनमा अहिले पनि आशंकाहरु छन् ।

संविधान संसोधनको विषय अघिल्लो संसदमा प्रस्ताव गर्दै गर्दा यसको बारेमा उच्चारण पनि गर्नु राष्ट्रघात हो भनेर भनेको कुरा अहिले हामी सम्झन्छौँ । तर, आज हामी सुनिरहेका छौँ, त्यही संविधान संसोधनको विषयहरुमा मातपक्षी गरेर हस्ताक्षर गर्न मात्र बाँकी छ । केका निम्ति ? दुई तिहाईका निम्ति । स्पष्ट बहुमत हुँदाहुँदै पनि यो दुई तिहाईको दिव्य शक्तिको मोहको पछाडिको कारण के हो ? यसको पछाडिको नियत के हो ? हामीले सुन्ने गरेका छौँ, केहि साथीहरु भन्नुहुन्छ अनुमान लगाउनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू लिक्वानोको, मलेसीयाको महाथीर मौवतको ठूलो प्रसंसक हुनुहुन्छ रे । र, नेपालमा विकासमा स्थिरता नहुनु एउटा बलियो राजनेता नभएको कारणले गर्दा हो भन्ने विश्वास गर्नुहुन्छ रे तर, सम्माननीय सभामुखज्यू त्यस्तो बलियो नेता राजा महेन्द्र, राजा विरेन्द्र, राजा ज्ञानेन्द्रको रुपमा तीस वर्ष नेपालले बेहोरेको होइन ? हामीले बेहोरिसक्यौँ ।

त्यसैले हाम्रो संविधानले स्पष्टसँग भनेको छ, हाम्रो राज्यको अधिकारलाई केन्द्र प्रदेश र स्थानीय तहमा हामीले अधिकार सहित बाँडेका छौँ । हामीले हाम्रो आफ्नो संवैधानिक सर्वोच्चताको अभ्यास गर्दै विषयको सन्दर्भमा सरकार सदन र अदालतको सिमारेखाहरुलाई समेटेर उल्लेख गरेका छौँ । हामीले संवैधानिक आयोगहरुको व्यवस्था गरेका छौँ ।

यी संस्थाहरुलाई बलियो बनाउने हो, डेमोक्राफिक इन्सिट्यूसनहरुलाई बलियो बनाएर हाम्रा इन्सिट्यूसन यारेन्जमेन्टहरुलाई बलियो बनाएर हाम्रो आफ्नो सिस्टमले डेलिभरी दिन सक्ने ठाउँमा पु¥याउनु पर्ने सन्दर्भमा कहीँ कतै हामी बरालिएर इन्सिट्यूसन्स्हरु होइन बलियो व्यक्ति चाहिन्छ भन्ने ठाउँमा पुग्यौँ भने फेरी अर्को दुर्घटना हुन्छ ।

नेपाली कांग्रेस यो दुर्घटना रोक्न चाहन्छ । त्यसैले संसदको प्रतिपक्षमा बस्न चाहन्छ । हामीले पटक पटक आन्दोलन गर्यौ, सम्बृद्धिको बाचा गर्यौ, बाचा पुरा गर्न सकेनौँ । कार्यान्वयन थिए, बहानाहरु थिए । राजाको कारणले भएन भन्यौँ, राजा नै फालिदियौँ । संविधानको कारणले गर्दा भएन भन्यौँ, संविधान फ्याँकिदियौँ । एकात्मक व्यवस्थाको कारणले गर्दा भएन भन्यौँ, एकात्मक व्यवस्था पनि फालिदियौँ । अब हामीले जम्मा एउटा कुरा भनिरहेका छौँ । स्थिरता नभएको कारणले गर्दा भएन, स्थिरता पनि ल्यायौँ । अस्थिर सरकार फ्याल्यौँ ।

केन्द्रमा प्रदेशमा जताततै स्थिर सरकार बन्दै छ, एउटा सर्वशक्तिसाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ, जिम्मेवार र सुयोग्य प्रतिपक्ष छ । अब यस्तो बेलामा पनि नगरे कहिले गर्ने ? त्यसैले बाम गठबन्धनले मत माग्दै गर्दा आफ्नो घोषणपत्रमा जेजे कुरा भनेको थियो, त्यो अब कसैले रोक्न सक्दैन भन्ने आधार छ । सम्माननीय प्रधानमन्त्रीज्यू हामी प्रतिपक्षमा उभिएपनि स्पष्ट छ ।

गणितले त्यही भन्छ, दुई तिहाई हाराहारीको मत प्राप्त गरेर तपाईले आज विश्वासको मत पाउनुहुन्छ । तर आजबाट दिन गन्ती सुरु भएको छ । घोषणा पत्रमा तपाईँले लेख्नुभएको छ, पाँच वर्षमा प्रत्यक वर्ष आर्थिक वृद्धिदर १० प्रतिशतले हुन्छ । भ्रष्टाचार शून्य हुन्छ । दुई वर्ष भित्रमा नेपालले एउटा पनि कृषि उपज बाहिरबाट किन्नु पर्दैन । पाँच वर्ष भित्र हामी बेचेर खनखन पैसा कमाउँछौँ । पाँच वर्ष भित्र नेपालको सबै खेतियोग्य जमिनमा सिचाईँ भइसक्नेछ । फास्ट ट्रयाक पाँच वर्ष भित्रमा बन्नेछ । निजगढको विमानस्थल पाँच वर्ष भित्रमा बन्नेछ । पुर्वपश्चिम रेलमार्ग ६ लेनको हुने मात्र होइन त्यही ६ लेनको छेउबाट विद्युतको रेल पनि कुद्नेछ भनेर तपाईँले लेख्नुभएको छ । पच्चीस लाख पर्यटक नेपालमा भित्रिनेछन्, बीस प्रतिशत बजेट एजुकेसनमा छुट्टिनेछ । प्रत्येक प्रदेशमा एक हजार जनाले उपचार पाउने हजार शैया सहितको अस्पताल बन्नेछ र सबैखाले महिला हिंसाको अन्त्य हुनेछ । जो हिंसामा संलग्न हुन्छ, उसलाई आजिवन श्रम सहितको कारावास सजायँ हुन्छ भनेर घोषणापत्रमा लेख्नुभएको छ ।

तपाईँले भन्नुहोला सभामुख महोदय,

प्रधानमन्त्रीले हाम्रो घोषणा पत्र कन्ठ पारेर आइस् भन्नुहोला । कन्ठ पार्ने मात्र होइन, यो कन्ठस्थ पारेको घोषणा पत्रलाई यो सदनमा अब पटक–पटक आएर दोहोर्याउनेछु । किनकी अब किन्तु परन्तु केही पनि चल्दैन, अब परिणाम चाहिन्छ । ‘नो ह्विप, नो वट’ अब परिणाम चाहिन्छ, त्यो पनि उधारोमा होइन सभामुख महोदय, नगदमा चाहिन्छ । अब हामी माग्नकै लागि प्रतिपक्षमा बस्न चाहन्छौँ ।

सभामुख महोदय, राज्यको अस्तित्व विविधतासँग जोडिएको छ । यो संविधानले विविधताको पहिचान मात्र होइन सम्मान पनि गरेको छ । राज्यव्यस्थाको सञ्चालन र विकासमा विविधतालाई सँगसँगै लिएर जानुपर्छ, यो संविधानले त्यही कुरा भनेको छ तर, विविधताको वैधानिकता संविधानले दिएतापनि वैधता भने व्यक्तिको सोचले निर्धारण गर्छ । मधेस केन्द्रित दलहरुले विश्वासको मत दिने भनेर भन्नुभएको छ ।

प्रदेशमा हामीलाई दिनुभयो, माथीलाई हामी दिन्छौँ । लेनदेनका कुराहरु होलान् त्यसमा हामीहरु जान चाहदैनौँ तर, मधेसजन्य दलहरुले मत हाल्दैमा विगतका दुई अढाई वर्षमा सम्माननीय प्रधानमन्त्रीज्यू यो भन्दा अघिल्लो पटक प्रधानमन्त्री रहँदै गर्दा, नेताको रुपमा नहुँदै गर्दा, उहाँले राख्नुभएको वाणी र अडानबाट धोती लाउनेहरुको जसरी मन फाटिएको छ । आज मतले जोड्दैमा त्यो फाटेको मन जोडिँदैन । हामीलाई आशंका छ, यो आशंका नरहोस्, यो आशंकाहरु कुनै पनि व्यवहारमा अनुवाद नहोस् हामी चाहन्छौँ । तर यो बेलामा हामीले खबरदारी नगरे कसले गर्ने ? कोही न कोही चाहिन्छ । कोही बरालिन लाग्यो भने खबरदारी गर्ने यो संसदमा चाहिन्छ । त्यसका निम्ति हामी प्रतिपक्षमा बस्न चाहन्छौँ ।

हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीज्यूले सन्तुलित ढङ्गले लिएर जान्छु भनेर भन्नुभएको छ । हामी प्रतिपक्षको बेन्चमा बसेर प्रधानमन्त्रीज्यूको यो अग्रसरतालाई पुर्णरुपमा साथ दिन चाहन्छौँ । कहीँ कतै कमजोरी पनि नहोस्, कहीँ कतै बरालिने काम पनि नहोस् । तर त्यसका निम्ति पनि सरकारलाई सम्झाउने, सरकारलाई बेलाबेलामा कतिपय ठाउँमा बाटो देखाउनका निम्ति, घच्घचाउनका निम्ति प्रतिपक्ष चाहिन्छ, हामी त्यही प्रतिपक्षको बेन्चमा बस्न चाहन्छौँ ।

अन्त्यमा, म निर्वाचन लड्दै गर्दाको मेरो एउटा अनुभव छ, म काठमाडौँमा निर्वाचनको लागि लड्दै गर्दा नेकपा एमालेकाे अध्यक्षले निर्वाचनमा क्षेत्रमा आएर भन्नुभएको थियो, यो केटो सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ, मैले भने केही छैन । कम्यूनिष्टहरु मध्येको सबैभन्दा शुद्ध कम्यूनिष्ट ‘विप्लव’ले मेरो चुनावको ¥यालीमा बम पड्काउनु भयो । म सँग निर्वाचन लड्दै गर्दा साथीहरुले भन्नुभयो यो त काँग्रेस साथीले पड्कायो । नेकपा एमालेको अध्यक्षले भन्नुभयो रे मैले सुनिन, काँग्रेसले पड्काएको रे । हामीले भन्यौँ चुनावको बेलामा यस्तै हो ।

सम्माननीय केपी ओली अब नेकपा एमालेको अध्यक्ष होइन । नेपालको प्रधानमन्त्री हो । यसरी अब जे पनि बोल्न पाईन्न । प्रत्येक चोटी बोलेको कुराको हिसाब किताब दिनुपर्छ र, यो सदनमा हिसाब किताब माग्न कोही चाहिन्छ । त्यसैले कांग्रेस त्यहाँ बसेर प्रत्येक कुराको हिसाब किताब खोज्छ । त्यसकारणले गर्दा काँग्रेस प्रतिपक्षमा बस्छ । हाम्रो शुभकामना छ, प्रधानमन्त्रीज्यूलाई सफल कार्यकालको लागि ।

प्रधानमन्त्रीज्यूबाट पनि सफल प्रतिपक्षका निम्ति शुभकामना प्राप्त गर्छौँ भन्ने अपेक्षा गर्दछौँ । धन्यवाद, जय नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *