विप्लवको पक्राउ पुर्जी विरुद्ध कपिलबस्तुमा प्रदर्शन

कपिलबस्तु, फागुन २७ । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता,कार्यकर्तामाथि धरपकड गरेको भन्दै हजारौं सर्वसधारण सडकमा निस्केका छन् ।

नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनु पर्ने माग राखेर सर्वसाधारण सडकमा निस्केका हुन् ।

आइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सर्वसाधारण दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर भन्दै सुरु भएको प्रदर्शन अहिले सभामा परिणत भएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’विरुद्ध कपिलवस्तु प्रहरीले फागुन १६ गते पक्राउ पुर्जी जारी गरेको थियो । चन्दमाथि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ओसारपसारको मुद्दाको कसुरमा भोजपुर जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले पुर्जी जारी गरेको हो । विप्लवको जन्मस्थान रोल्पाको इरिवाङ भए पनि हाल उनको ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा पर्छ । चन्दको चन्द्रौटास्थित घरमा पक्राउ पूर्जी टाँसिएको छ ।

नेकपाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशैभर बम विस्फोट गराएको थियो । नयाँ सरकार गठन भएपछि मात्रै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र केन्द्रीय नेता पदम राईसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि विप्लवसँगै एउटै पार्टीमा रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीकै रुपमा प्रहरी मुख्यालय गएकै दिन विप्लवमाथि प्रक्राउ पुर्जी जारी भएको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *