कैलाली घटनामा प्रधानमन्त्रीको चासो, दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, फागुन २७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

घटना भएको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले तत्काल कारवाहीको पहल गरेको बताइएको छ । यही फागुन २४ गते राधालाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घण्टौंँसम्म कुटपिट गरेको बताइएको छ । प्रहरीले अभियुक्त रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छाडिएको जनाइएको छ ।

मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई उन्मुक्ति हुन नसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । हाल स्वास्थ्योपचाररत राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि उपयुक्त व्यवस्था गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको जनाइएको छ ।

“नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिलादिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपनजस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ ”

प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईँले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तो थियो घटना

गत बिहीबार विहान कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीकी २० वर्षीया राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा (रामबहादुर चौधरी) भएको ठाउँमा पु‍र्याए ।

रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् । पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् ।

 बाबा भनिने रामबहादुर पनि उनीमाथि मुड्की बर्जाछन् । राधा भुतुक्क हुन्छिन् । नागको शैली नक्कल गर्दै बाबा भन्छन्, ‘बोल तो कोन हे ?’लगातारको कुटाइले आत्तिएकी राधा राधा आफ्नो बचाउ गर्न सक्दिनन् । तर, निर्दयी बाबा फेरि उनको ढाडमा मुड्की बर्जाछन् । बाबा र पार्वतीले लगातार राधामाथि कुटपिट गर्छन् । कहिले लछार पछार गर्छन् त कहिले मुड्की बर्जाछन् ।

आफूलाई बाबा बताउने रामबहादुर उनलाई ‘बोक्सी’ प्रमाणित गर्न अनेक प्रयास गर्छन् । सोध्छन्, त को होस् ? उनीमाथि लगातार कुटपिट भइरहन्छन् । यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।

घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरेको थियो भने विरामी भनिएकी पार्वतीलाई उपचारका लागि अस्पतालतर्फ पठाएको थियो ।घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले भोले बाबा उर्फ रामबहादुरलाई पक्राउ ग‍र्याे । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले पनि राबहादुरलाई छोडिदिएको थियो ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले जानकारी दिए ।

कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् ।

घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध पीडित युवतीका बाबुले जाहेरी दिएपछि उनी शुक्रबार पक्राउ परेको छ । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *