च्यारिटिको दुरुपयोग गर्दै नेपाली समुदायका अगुवाहरु

हङकङ, फागुन २७ । ‘च्यारिटी’ पवित्र उद्देश्यका साथ गरिने कार्यक्रम हो । तर, हङकङमा भने व्यक्तिगत लाभका निम्ती नेपाली समुदायका अगुवाहरुले प्रयोग गर्दै आएका छन् । बिभिन्न नाममा हुने ‘च्यारिटी’का नाममा लुट मच्चाइएको छ ।

यस्तो काममा हङकङमा रहेका नेपाली समुदायका अगुवाहरु भनिएका नै बढी सक्रिय छन् । यहाँका अगुवा मानिएका रीता गुरुङ, प्रदीप थापा, नेत्र पहराई, गणेश गुरुङ, कोमल गुरुङ, कूलप्रसाद गुरुङ लगायत सक्रिय छन् ।

मूल्य बिनाका टिकट भिडाउने र स्पोन्सर माग्ने प्रचलन बढेको छ । च्यारिटी र सामान्य व्यापारको लागि प्रदर्शन हुने चलचित्र अहिले डनहरुको कमाई गर्ने साधन बनेको छ । कुनै समय २/३ महिनामा एउटा नेपाली चलचित्र प्रदर्शन हुने हङकङमा अहिले सातामै २/३ चलचित्र प्रदर्शन भइरहेका छन् । यसले नेपाली चलचित्रको व्यापार त फस्टाएको छ नै तर यहाँका नेपाली व्यापारी भने हैरान छन् ।

हङकङबाट किसन राई लेख्छन् ‘चलचित्र प्रदर्शनका लागि हल भाडा ७ देखि १० हजार, सेन्सर ६ सयदेखि १ हजारसम्म (६.५ डलर प्रति मिनेट) र छपाई तथा प्रचारप्रसार ४ देखि ८ हजारसम्म गरेर १२ देखि १९ हजार हङकङ डलरसम्म स्थानीय खर्च हुने गर्दछ ।’ चलचित्रलाई १ देखि ३ लाख नेपाली रुपैयाँ दिने गरेको पाइन्छ । यसरी हेर्दा कूल खर्च २० देखि ४० हजारको हाराहारीमा हुने गरेको छ ।

सामान्यतय टिकट दर १ देखि ३ सय डलरसम्मका हुने गरेको छ । ती टिकट जो कोहीलाई किन्नको लागि अनुरोध गरिएमा प्रायले किनिदिने गरेको देखिन्छ । चलचित्र जतिसुकै झुर भए पनि ३ सयको हाराहारीमा टिकट बिक्री हुने गरेको अनुभवीहरु सुनाउँछन् । यसरी हेर्दा सामान्य चलचित्र प्रदर्शनीबाट ३० हजार भन्दा बढी नै संकलन हुने देखिन्छ ।

यहाँ एउटा परम्परा के छ भने टिकट किन्ने जति शतप्रतिशत कुनै पनि प्रदर्शनीमा उपस्थित हुँदैनन् । शतप्रतिशत टिकट बिक्री भएका कार्यक्रमको पनि २० देखि ३० प्रतिशत दर्शक अनुपस्थित रहन्छन् । यसको मतलव हलमा डेढ दुई सय दर्शक देखिए अढाई तीन सय टिकट बिक्री भएको हुन्छ । अनुभवी आयोजकहरुले सिट संख्या भन्दा बढी टिकट बिक्री गरेर हलमा समस्या भएपछि आजभोलि सिट बराबरको टिकटमा हलको छाप लगाउन अनिवार्य गरिएको छ ।

माथि उल्लेख गरिएको विवरण सामान्य तरिकाले गरिने चलचित्र प्रदर्शनीको हो । शुरुवातमा चलचित्र प्रदर्शनी यसरी नै हुने गरेका थिए । तर आजभोलि यसमा विकृति भित्रिएको छ । मूल्य बिनाका टिकट भिडाउने र स्पोन्सर माग्ने प्रचलन बढेको छ । पहिले संघसंस्थाद्वारा च्यारिटी र सामान्य व्यापारको लागि प्रदर्शन हुने चलचित्र अहिले डनहरुको कमाई गर्ने साधन बनेको छ ।

यसरी प्रदर्शन हुने चलचित्रका लागि ग्रोसरी स्टोर, सैलुन र रेष्टुरेण्ट संचालकहरु भीआईपी टिकट किन्न बाध्य छन् भने कन्सल्टेन्सी, होलसेल पसलवाला र ट्राभल एजेन्सीलाई भीभीआईपी टिकट भिडाइन्छ । ती टिकटका मूल्य सामान्यतय ५ सय र हजार डलरका हुन्छन् । कन्सट्रक्सन र रेमिटेन्स कम्पनीलगायतलाई ५ देखि १० हजार डलर (भीभीभीआईपी टिकट) स्पोन्सरको लागि दवाव दिइने गरिएको छ ।

भीआईपी टिकटका छुट्टै कथा छ । नेपाली चलचित्र प्रदर्शन प्राय याउमाते कम्युनिटी हल र युनलङ् थिएटरमा हुने गरेका छन् । कम्युनिटी हल बुकिङ आवेदन व्यापारिक प्रयोजनको लागि प्राथमिकतामा पर्दैन । बुकिङमा सामाजिक उद्देश्य देखाइएको हुन्छ, त्यही भएर त्यहाँ प्रदर्शन हुने चलचित्रका टिकटमा मूल्य तोकिएको हुँदैन । थिएटरको भाडा भने तोकिएको भन्दा बढी आम्दानी भएमा अतिरिक्त शुल्क लाग्ने गरेको छ । भीआईपी नामका टिकटको मूल्य सबै भन्दा बढी रकमको टिकट बराबर गन्ती गरिन्छ । यस किसिमका टिकटले हललाई कम देखाउन र किन्नेलाई बढी लिन सहयोग र्पुयाउछ ।

हल बुकिङको कथा पनि रोचक छ । याउमाते कम्युनिटी हल बुकिङका लागि सामाजिक संस्थाको आवरणमा गर्ने र व्यापारिक प्रयोजनका लागि बेच्ने गरिएको छ । अनुभवीहरुका अनुसार उक्त कार्यको लागि गिरोह नै रहेको छ ।

यसका लागि हङकङ नेपाली महासंघका सदस्य संस्था हङकङ गोर्खाज युथ एशोसियसन, नेपाल क्लव, बुढासुब्बा गोल्डकप, सगरमाथा स्पोर्ट्स, गुल्मी समाज र टप माउण्टेन तेक्वान्दो, तमु सोसाइटीलगायत रहेका छन् । विभिन्न समाजको नाममा आवेदन भए पनि सम्पर्कमा रीता गुरुङ, प्रदीप थापा, नेत्र पहराई, गणेश गुरुङ, कोमल गुरुङ, कूलप्रसाद गुरुङका नाम र सम्पर्क नम्बर रहेको रेकर्ड देखिन्छ ।

विगत तीन महिनाको रेकर्ड हेर्ने हो भने यस अवधिमा प्रदर्शन भएका चलचित्र तारेभीर, चेसुङ, खै ओ म्हि थेवा, ङोलो ङोल्स्यो, फाटेको जुत्ता, डाइङ क्यान्डल, रेस, २ रुपैयाँलगायत उक्त अवधिमा सोही ठाउँमा सम्पन्न भएका सांस्कृतिक कार्यक्रम पारुहाङ साँझ, धरान साँझ, डम्फु साँझ, सागर धमाकालगायतका पोस्टर र टिकटमा आयोजक अरु नै रहे पनि बुकिङ माथि उल्लेखित व्यक्ति र संस्थाका नाममा रहेका छन् ।

आयोजकले कार्यक्रम गर्न उक्त हलका लागि ५ देखि ८ हजारसम्म तिरेका छन् । जब कि उक्त हल प्रयोग गरेवापत १ हजार ३ सय ७५ मात्र चार्ज लाग्ने गरेको छ । रेस चलचित्र र पारुहाङ साँझका लागि ५–५ हजार तिरेको आयोजकहरुले बताएका छन् । भुक्तभोगीहरुका अनुसार हल उक्त गिरोहबाट लिएपछि कलाकारलगायतको भिसा सम्बन्धी कामसमेत उनीहरुबाटै गर्नुपर्ने शर्त राखिन्छ । त्यस वापत छुट्टै चर्को शुल्क लिने गरिएको छ । भिसा सम्बन्धी काम नेत्र पहराई, कोमल गुरुङलगायतले गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *