राष्ट्रपति निर्वाचनको मौन अवधि शुरु, आयोगको ध्यानाकर्षण

फागुन २६, काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ ।
मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाता कोहिपनि चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।
साथै आम सञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशनप्रशारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि मौन अवधिको पूर्ण पालना गर्न समेत आयोगले सरोकारवालामा अनुरोध गरेको छ ।

राष्ट्रपति निर्वाचनमा बाम गठबन्धनकी साझा उम्मेद्वार बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रतिपक्षी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राई विच प्रतिष्पर्धा हुँदैछ । वर्तमान राष्ट्रपति भण्डारी र राई दुबै भोजपुरका हुन् ।

निर्वाचन आयोगको ध्यानाकर्षण

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश नभएका निर्वाचक मण्डलका सदस्यहरूले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरू प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै मतदाता नामावली सम्बन्धी ऐन अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने जनाएको हो । आगामी राष्ट्रपति निर्वाचनको लागि फागुन २२ गते निर्वाचक मण्डलका सदस्यहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

फागुन २२ गते प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका निर्वाचक मण्डलका सदस्यहरूले मात्र राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *