नेपालमा प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन

काठमाडौं, असार २६ । नेपालमा प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने र नेपालीको औसत प्रतिव्यक्ति ५० ग्राम मह खाने आदत रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । महको महत्व बुझाउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको दोस्रो मह महोत्सवमा यस्तो जानकारी दिइएको हो । यद्यपि प्रत्येक नेपालीले दैनिक ७५ ग्राम मह खाने हो भने हाल उत्पादन भइरहेको महले धान्न सक्दैन ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गरेको महोत्सव असार २९ गतेसम्म मेला सञ्चालन हुनेछ । व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन् । महोत्सव अवधिमा झन्डै रु ५० लाख महको कारोबार हुने अपेक्षा राखिएको छ ।

नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास भएपनि २० वर्षसम्म प्रयोगशाला स्थापना नहुँदा महको अन्तर्राष्ट्रिय व्यापार गर्न नसकिएको मह व्यवसायी धर्मराज श्रेष्ठले बताए ।  यसअघि आयोजित एक कार्यक्रममा नेदरल्याण्ड निवासी मह व्यापारी जोन हकले नेपालमा उत्पादन भए जति मह खरिद गरिदिने आश्वासन दिँदै नेपाल सरकारबाट यसको गुणस्तरीयता प्रमाणित हुनुपर्ने बताए ।  “सरकारले मौरी व्यवसाय विकासका सहयोग पु¥याउन उपकरण खरिदमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालीम मौरी, घार तथा अन्य उपकरणमा अनुदान दिएको छ,” व्यावसायिक किट विकास निर्देशनालयका निर्देशक हरिहर अधिकारीले भने ।  एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुन्छ । वार्षिक दुई अर्बको मह निर्यात र १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने उल्लेख छ ।

मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको उल्लेख छ । सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषण गरेको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट मह आयात गर्छ । विश्वमा ८० जातका माहुरी छन् । विश्वमा नौथरीका मौरीबाट व्यावसायिक मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश ९खागो० जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।

सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी दुई हजार ५०० देखि तीन हजारमा र केरेनाको ७०० देखि एक हजार र मेलिफेराको ४०० देखि ५०० सम्म बिक्री हुँदै आएको छ । विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *