व्यापारीको दबाबमा रोकियो बजार अनुगमन, के भन्छन् मन्त्री मातृका यादव ?

काठमाडौं, फागुन २६ । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन् ।

आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनका माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरिरहेको अवस्थामा मन्त्री यादवले उपभोक्ता लुट्दै आएका उद्योगी र व्यवसायीको ‘अनुकुल’हुने गरी अनुगमन रोक्न निर्देशन दिएका हुन् ।  मन्त्री यादबले सचिब अनिल ठाकुरलाई पनि तत्कालका लागि अनुगमन स्थगन गर्न निर्देशन दिएका छन् ।

‘मन्त्रीज्यूले विस्तृत जानकारी लिनुभयो, उहाँले अनुगमनको नाममा सस्तो लोकप्रियता कमाउने गरी प्रचारमुखी देखिएको विश्लेषण गर्नुभयो,’ सचिव ठाकुरले भने, ‘अनुगमन धेरै भए पनि दोषी भनिएका कसैमाथि कारबाही नभएको फेला परेपछि थप कार्ययोजनासहित अघि बढ्ने गरी तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिनुभएको छ ।’

आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री यादवलाई पछिल्लो समय उद्योगी र व्यवसायीको संगठित संघसंस्थाले भेटेरै बजार अनुगमन रोक्न दबाब दिँदै आएका छन् । आपूर्ति विभागले सरकारले तोकेको मुनाफा दरभन्दा बढी मूल्य असुल्ने निजी क्षेत्रका ठूला विद्यालय, पाँचतारे मानिने अस्पताल, चारपांग्रे सवारीसाधनको मुख्य बिक्री केन्द्र, ठूला जडीबुटी बिक्री केन्द्रलगायतमा अनुगमन तीव्र पारिरहँदा उद्योगी(व्यवसायीले अनुगमन रोक्न विभिन्न शक्तिकेन्द्र धाउँदै आएका छन् ।

मन्त्री यादवले भने दबाबको भरमा अनुगमन नरोकिने दाबी गरेका छन्। उद्योगी(व्यवसायी संगठित भएर भेटेरै बजार अनुगमन रोक्न आग्रह गरिरहेको अवस्थामा उनले बजार अनुगमन कुनै पनि सर्तमा नरोकिने दाबी गरेका हुन् ।

शुक्रबार यादवले भने, ‘तालुकदार मन्त्रालय भएकाले उद्योगी र व्यवसायी आ(आफ्नो गुनासा लिएर आउँछन् तर उनीहरूले गरेका सबै माग पूरा गर्नै पर्छ भन्ने छैन। मातृकालाई आफ्नो काम गर्नबाट कसैले रोक्न सक्दैन, रोकेको पनि छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *