नेपाल प्रहरीमा ११ जना एआईजी बन्दै

काठमाडौं, असार २६। विगत केही समयदेखि बढुवा प्रक्रिया अघि नबढेर समस्या परेको नेपाल प्रहरीको एआईजी पदमा नयाँ अनुहार ल्याउने प्रक्रिया सुरु भएको छ । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एआईजी पदमा ७ जना, ११ जना, वा १३ जना बनाउने भन्ने सिफारिस गरेकोमा अन्त्यमा गएर ११ जनाभन्दा बढी नहुने निर्णय भएको थाहा भएको छ ।

मन्त्रिपरिषद्ले आज गरेको निर्णयले ११ जनाको दरबन्दीमा निर्णय गरेको छ । अब बढुवा समितिको गठन गरेर एआईजीमा बढुवा हुनेको अन्तिम नामावली निकालिने छ । गृहमन्त्री जनार्दन शर्मा श्रीलंकाको भ्रमणका लागि मंगलबार जाने भएकाले त्यसअघि नेपाल प्रहरीमा नयाँ एआईजीको नियुक्ति हुने सम्भावना देखिएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सरकारले एआईजीमा ३ जनामात्र हुने व्यवस्था गरिदिएकाले आठ जनाको दरबन्दी थप्नका लागि मन्त्रिपरिषद्को निर्णय चाहिएको हो । प्रहरीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव संयोजक तथा सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव, लोकसेवा आयोगको सदस्य तथा प्रहरी महानिरीक्षक रहने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार अब सात वटा प्रदेश सबैमा एआईजीको कमाण्ड रहने व्यवस्था गर्ने गृह मन्त्रालयको नीति रहेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयको स्रोतका अनुसार अहिले भएका सबै डिआईजीहरू मध्येबाट वरिष्ठता वा कनिष्ठता नभनी जोकसैलाई पनि सरकारले एआईजी बनाउन सक्नेछ । तथापि वरिष्ठ तथा एआईजीमा बढुवा हुने सम्भावना भएका डीआईजीहरुमा जयबहादुर चन्द, बम बहादुर भण्डारी, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुसूदन पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ, माधव नेपाल, रणबहादुर चन्द, हेमन्तबहादुर पाल, गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, विजयकुमार भट्ट, सुदीप आचार्यलगायत रहेका छन् ।

यसअघि नेपाल प्रहरीमा सर्वोच्चको आदेशका कारण १३ जना एआईजी पदका पुलिस अफिसर थिए । त्यसबेला सात वटा दरबन्दी भएकोमा सरकारले दुई जनाको दरबन्दी थप गरी नौ जनाको बढुवा गरेको थियो ।

उक्त नौ जनामा एकजना वरिष्ठतामा १३ नम्बरमा परेका डीआईजी परेको र सो निर्णय विरुद्ध चार जना डीआईजीले मुद्दा हालेपछि सर्वोच्च अदालतले थप चार जनाको पनि बढुवा गर्न आदेश दिएका कारण १३ जना एआईजी भएका थिए । हाल प्राविधिकका एकबाहेक सबै एआईजी पद रिक्त रहेको अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *