सभामुख चयन गर्न माओवादी केन्द्र औपचारिक छलफलमा, खुमलटारमा बैठक सुरु

काठमाडौं, फागुन २५ । नेकपा माओवादी केन्द्रले सभामुखको चयन गर्न औपचारिक छलफल सुरु गरेको छ। सभामुखको उम्मेदवार टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा केन्द्रीय सचिवालय समितिको बैठक बिहान ८ बजे सुरु भएको छ।

बैठकले भोलि हुने सभामुख निर्वाचनमा पार्टीको तर्फको उम्मेदवारको टुंगो लगाउनेछ। संसद् सचिवालयको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन समय आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ।

वाम गठबन्धनको सहमति अनुसार सभामुख पद माओवादी केन्द्रको भागमा परेको छ। सभामुखका लागि माओवादीभित्र आकांक्षीहरु धेरै देखिएका छन्।

स्रोतका अनुसार सभामुखमा यसपटक समेत रोल्पाका उम्मेदवार हुने पक्का छ। पूर्वसभामुख ओनसरी घर्तीलाई दोहोर्‍याउन नहुने भन्दै पार्टीभित्र चर्को दबाब छ। राष्ट्रपति दोहरिएसँगै सभामुखमा समेत घर्तीले दोहोरिने इच्छा देखाउनुभएको छ।

रोल्पाबाटै नेता कृष्णबहादुर महराले सभामुख पदमा दाबी गर्नुभएको छ। महरालाई सभामुख बनाउन पार्टी अध्यक्ष दाहालसमेत सकारात्मक हुनुहुन्छ। तर पार्टीभित्र देव गुरुङ, अग्नि सापकोटा, गिरिराजमणी पोखरेल लगायतका नेताले समेत सभामुखमा दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *