आमाको नामबाट नागरिकता दिन किन नमिल्ने ?

भरतपुर, फागुन २४  । ‘आमाको नामबाट नागरिकता दिन किन नमिल्ने ? सर्वोच्च अदालतले आमाको नामबाट दिने फैसला गरेपछि पनि किन दिइँदैन ?’ भरतपुर महानगरपालिकाले १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरसंवाद कार्यक्रममा एक महिलाले यस्तो गुनासो गरिन् ।

भरतपुर महानगरपालिका कार्यालयले बिहीबार भरतपुरमा ‘महिला अधिकार र चुनौती विषयक’ अन्तरसंवाद कार्यक्रमको आयोजना आयोजना गरेको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा महिलाले आमाको नामबाट नागरिकता नपाइएको विषयमा कुरा उठाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णभक्त पोखरेलले सर्वोच्च अदालतले समेत आमाको नामबाट सन्तानलाई नागरिकता दिने घोषणा गरिसकेको बताए । उनले भने, ‘अब आमाको नामबाट नागरिकता दिन बाधा छैन । बाबुको ठेगान नभएकाहरुलाई बाबुको नाम खाली राखेर नागरिकता दिन मिल्ने फैसला सर्वोच्च अदालतबाट भइसकेको छ ।’

अन्तरसंवाद कार्यक्रममा महानगरका सबैजसो वडाबाट सयौंको संख्यामा महिलाहरु सहभागी भएका थिए । उनीहरुले आमाको नामबाट महिलाले नागरिकता पाउन नसक्दा उनीहरुका सन्तानसमेत नागरिकताबाट वञ्चित हुनु परेको बताएका थिए ।

केही महिलाले बिधवा महिलामात्र नभई विवाह नगरी बसेका महिला र सम्बन्ध विच्छेद गरेर बसेका महिला पनि एकल महिलाको परिभाषाभित्र अट्नु पर्ने बताएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गृह मन्त्रालयबाट परिपत्र नहुँदा आमाको नामबाट नागरिकता दिने विषयमा समस्या रहेको बताए । उनले जनप्रतिनिधिको रोहवरमा उनीहरुले नै जिम्मा लिने गरी नागरिकता सम्बन्धी समस्या समाधान गर्दै आएको जानकारी गराएका थिए । माइतीको पहिचान नखुलेका महिलाले नेपालीसँगै बिहे गरेपनि नागरिकता पाउन नसकेकोले यसको लागि कानुन बनाउन आवश्यक भएको उनले बताइन् ।

प्रदेश सांसद गीता वाग्लेले महिला दिवसको कार्यक्रममा पुरुषलाई किन प्रमुख अतिथि बनाएको भनी आपत्ति जनाइन् । कार्यक्रममा समापन मन्तव्य राख्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले महिलाहरुको मुद्दामा खुल्ला बहस चलाउन अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेकी थिइन् । महिला अधिकार प्राप्तिको लडाइँ अहिले पनि जारी रहेको धारणा व्यक्त गर्दै महानगर प्रमुख दाहालले भनिन्, ‘जति अधिकार उति संघर्ष भनेजस्तै हामीले अधिकार प्राप्तिको लडाइँ अझै जारी राख्नु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *