चैत २ बाट ‘पञ्चायत’

नारायणगढ, फागुन २४ । नेपाली चलचित्र क्षेत्रको लागि चितवनलाई मोफसलकै मुख्य केन्द्र मानिएको छ । जसले गर्दा हरेक चलचित्रको प्रदर्शन मिति तोकिएसँगै कलाकारसहितको टोली चितवन आउन छुटाउँदैनन् । प्रायः हरेक हप्ता चितवनमा एउटा न एउटा चलचित्र लिएर आउँछन्, चलचित्रकर्मीहरू ।

पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’ को टोली प्रचारप्रसारकै लागि चितवन आएको थियो । चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरूको जम्बो टोलीले नारायणगढमा चितवनका पत्रकारहरूसँग भेटेर प्रचारप्रसारको सहयोग लिन भ्याए ।

चलचित्रका निर्देशक शिवम् अधिकारी, प्रमुख पात्र अभिनेता सरोज खनाल, नायिका नीता ढुङ्गाना, प्रस्तुतकर्ता गणेश गिरी, कार्यकारी निर्माता रवि अधिकारी, नायिका जाहन्वी बस्नेतलगायतको टोली चितवन आएका हुन् । विसं २०३३ सालको कथालाई चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।

कथा पुरानो भए पनि नेपालको इतिहासलाई कोट्याइएकोले वर्तमान परिवेशका दर्शकहरूलाई इतिहासबारे बुझ्न सहयोग पुग्ने निर्देशक अधिकारीले बताए । सामाजिक संस्कार र परम्परा, मायाप्रेम, यौन मनोविज्ञान, द्वन्द्व र मनोरञ्जन सबैखालको स्वादलाई कलात्मक शैलीमा पर्दामा उतार्ने प्रयास गरिएको कार्यकारी निर्माता रवि अधिकारी बताउँछन् ।

चलचित्रमा ‘पञ्चायत’को भूमिकामा देखिएका अभिनेता सरोज खनालले चलचित्र ‘पञ्चायतमा’ काम गर्दा अहिलेसम्मकै सबैभन्दा फरक अनुभव गरेको बताए । ‘किनकी मैले पुरानो इतिहासलाई न्याय दिन सक्छु कि सक्दिन भन्ने चुनौती थियो,’ उनले भने, अब दर्शकहरूको हातमा छ, मैले कत्तिको न्याय दिलाउन सकेँ वा सकिन भन्ने कुरा । त्यसैले नजिकैको चलचित्र हलसम्म पुगेर सहयोग गरिदिन पनि सबैलाई अनुरोध गर्दछु ।’ धेरै चलचित्रमा काम गरिसके पनि चितवन आफ्नै गृह जिल्ला भएकोले चितवन रहँदा कलाकारको अनुभव नै नहुने भन्दै उनले थपे, ‘मेरो लागि चितवन र चितवनको लागि म नौलो होइन । तैपनि यहाँका सबै दर्शकहरूले माया गरेर मलाई यो स्थानसम्म ल्याइदिनुभएको छ ।’

यही चैत २ गतेबाट देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रमा रूपा राना, विशाल पहारी, किरण थापा, गीता अधिकारीलगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् । सुशान्तकुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेको चलचित्रमा टंक बुढाथोकीले संगीत भरेका छन् ।

तर, चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना र सरोज खनालले पारिश्रमिकसमेत नलिइएकोले चलचित्रमा सबैको बराबर लगानी रहेको प्रस्तुतकर्ता गणेश गिरीले बताए । ‘चलचित्रका मुख्य कलाकारहरूले नै पारिश्रमिक नलिइएपछि उहाँहरूको पनि लगानी छ,’ उनले भने, ‘त्यसैले यो चलचित्र हामी सबैको संयुक्त लगानीमा बनेको हो ।’ नेपाली चलचित्रकर्मीहरूले चितवनलाई मोफसलकै सबैभन्दा धेरै दर्शक भएको जिल्लाको रूपमासमेत चित्रण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *