महिला क्रिकेटमा एपीएफ र राइजिङ विजयी

रत्ननगर, फागुन २४ । रत्ननगरमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको महिला क्रिकेट लिगमा बुधबार सशस्त्र प्रहरीबल (एपीएफ) र आयोजक राइजिङ क्लब विजयी भएका छन् ।

नेपाल माविको मैदानमा भएको उद्घाटन खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गरेको हो । निर्धारित १५ ओभरको खेलमा ८० रनको लक्ष्य एपीएफले ३ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।

एपीएफका लागि सरिता मगरले सर्वाधिक ३० रन, सीता रानामगरले १४ र करुणा भण्डारीले ११ रन बनाएकी थिइन् । यसअघि टस जितेर पहिले व्याटिङ गरेको मिलनका लागि कप्तान रुविना क्षेत्रीले ४६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । मिलनका लागि २ विकेट समेत लिएकी कप्तान क्षेत्री वुमन्स अफ दि म्याच घोषित भएकी आयोजक राइजिङका सदस्य राजन श्रेष्ठले बताए ।

यस्तै बुधबार भएको दोश्रो खेलमा अल इन्डिया वुमन्स टी–ट्वान्टी क्रिकेट एशोसियसन भारतलाई आयोजक राइजिङ क्रिकेट फर वुमन्सले ३६ रनले पराजित गर्यो । टस हारेर व्याटिङ गरेको राइजिङले निर्धारित १२ ओभरमा ११९ रन बनाएको थियो । राइजिङका लागि ममता चौधरीले नट आउट ४७, वर्षा रानाले पनि नट आउट रहँदै ३८ रनको योगदान गरिन् । जवाफी व्याटिङमा उत्रिएको भारतले पूरै ओभर खेल्दै २ विकेटको क्षतिमा मात्र ८२ रन बनायो । प्रतियोगिता लिगका आधारमा खेलाइएको छ । शीर्ष स्थानमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंमा रहेको राइजिङ क्रिकेट फर वुमन्स क्लबको आयोजनामा रत्ननगरको टाँडीमा क्रिकेट लिग सुरू भएको हो । विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र व्याट तथा उपविजेताले ट्रफी प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष आरती विडारीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *