‘पार्किङमा नसघाउने व्यवसायीलाई कारबाही’ – रेनु दाहाल

भरतपुर, फागुन २३ । भरतपुर महानगरप्रमुख रेनु दाहालले पार्किङमा नसघाउने व्यवसायीलाई कारबाही गर्ने बताएकी छिन् । मध्य नेपाल यातायात व्यवसायी संघ (मलमल) को दोस्रो वार्षिक साधारण सभालाई भरतपुरमा सम्बोधन गर्दै दाहालले कुनै पनि यातायातका साधन कसैको लागि समस्याको रूपमा नभई नागरिकहरूको सहयोगी बन्नुपर्ने बताइन् । ‘यातायात व्यवसायीहरू इमानदार र व्यावसायिक हुनुपर्छ । सडकमा जथाभावी पार्किङ गर्ने, आफूखुसी भाडा असुलेर यात्रुलाई दुःख दिनेहरूलाई कारबाहीको दायरामा ल्याइन्छ’ उनले भनिन् ।

महिला, ज्येष्ठ नागरिक, विद्यार्र्थी र अपांगता भएकाहरूलाई विशेष सहुलियतको व्यवस्था गर्र्न आग्रह गर्दै महानगर प्रमुख दाहालले महानगरको पार्किङ ब्यवस्थापनमा नसघाउने यातायात व्यवसायीलाई महानगरले कारबाही गर्ने चेतावनी दिइन् । बजार व्यवस्थापनका लागि पार्किङ व्यवस्थापन आवश्यक रहेको बताउँदै उनले यसमा तीनपांग्रे साधन समस्याको रूपमा खडा भएको बताइन् ।

तीनपांग्रे सवारीका चालक एवम् व्यवसायीलाई महानगरको योजना अनुसार चल्न आग्रह गर्दै दाहालले महानगरले तोकेको ठाउँमा पार्किङ नगर्ने सवारी साधनहरू कारबाहीमा पर्ने बताइन् । उनले तोकिएको ठाउँमा यात्रु ओराल्ने र चढाउने कुरालाई कार्यान्वयन गर्न सवारी चालकहरूलाई आग्रह गरिन् । यातायात व्यवसायीहरूले बालबालिकालाई श्रममा लगाउने गरेको पाइएको भन्दै दाहालले त्यस्तो कार्य तत्काल रोक्नुपर्ने बताइन् ।

महानगरपालिकाभित्र पार्किङ व्यवस्थापन जटिल बन्दै गएको बताउँदै महानगर प्रमुख दाहालले भनिन्, ‘पार्किङ व्यवस्थापनमा यातायात व्यवसायीहरूले सहयोग गर्नुपर्छ । तपाइँहरुको सहयोगले बजार व्यवस्थापन गर्ने काममा सफलता प्राप्त हुने भएकोले बजारलाई सुन्दर र व्यवस्थित बनाउन पार्किङ व्यवस्थापनमा सहयोग गर्नुहोस् ।’

मध्य नेपाल यातायात ब्यवसायी संघ (मलमल) का अध्यक्ष चिनीबहादुर बोहराको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा, चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष गोपाल भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *