आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकिय यस्ता छन्

काठमाडौं, फागुन २२ । सरकारको पूर्णतामा अलमल : नयाँ पत्रिका 

प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गरेका केपी शर्मा ओलीका प्रारम्भिक दिन गतिशीलताका हिसाबले त्यति प्रभावकारी रहेनन् ।

उनको कार्यशैली र प्रगतिको मूल्यांकन गर्ने वेला त आएकै छैन तर बिहानीले दिनको संकेत गर्छ भन्ने भनाइलाई मान्ने हो भनेचाहिँ अहिलेको गति धिमा भएको साँचो हो । आज उनले शपथ खाएको १९ दिन हुँदै छ ।

यसबीच उनले आफ्नो मन्त्रिपरिषद् दुईपटक विस्तार गरेका छन् । पहिलो दिन मधेस र पहाड तथा जनजाति र महिलाको समेत समावेशी प्रतिनिधित्व हुने गरी आफ्नो दलका जुनियर सदस्यलाई मन्त्री बनाएर काम आरम्भ गरेका उनले दोस्रो साता माओवादीतिरबाट दुईजना र एमालेबाट थप दुईजनालाई मन्त्री बनाएका थिए ।

तर, मन्त्रिपरिषद्का बाँकी सदस्यको नियुक्तिमा उनी अझै अलमल र तयारीमै देखिन्छन् । निर्वाचन सम्पन्न भएको साढे दुई महिनासम्म नयाँ सरकारको खाका तयारी गर्ने समय पाएका ओलीकोे यो ढिलाइको कुनै तार्किक उत्तर छैन ।

प्रधानमन्त्रीले सरकारको पूर्णतामा जे–जस्तो ढिलाइ गरिरहेका छन्, त्यसले समग्र नोकरशाही संयन्त्र, व्यावसायिक समुदाय र आमजनतामा समेत आशंका जन्माइदिएको छ ।

सबैलाई छिटो काम चाहिएको छ । छिटो–छिटो सरकारले पूर्णता पाओस्, आवश्यक कानुनहरू समयमै बनून्, सरकारले गठन गरिहाल्नुपर्ने वित्त आयोगलगायत आयोग बनून्, प्रदेश र स्थानीय सरकार सक्रिय हुने आवश्यक अवस्था सिर्जना होस्, रोकिएका अलमलमा रहेका विकास आयोजना तत्काल आरम्भ भई समयमै पूरा होऊन् भन्ने जनता चाहन्छन् ।

यसका लागि पर्खने, अलमल गर्ने समय छैन भन्ने स्वयं ओलीलाई नै अरूलाई भन्दा बढी थाहा छ । समय घर्केपछि गरिएका कतिपय कामले परिणाम राम्रो दिँदैनन् भन्ने हेक्का प्रधानमन्त्रीलाई पनि भएको राम्रो !

समृद्धिको माध्यम संघीय राज्य व्यवस्था : नेपाल समाचारपत्र 

निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसद्ले औपचारिकता पाएको छ । संविधानले कल्पना गरेको संघ, प्रदेशसँगै संघीय संसद्ले काम थालेको छ ।

यससँगै संघीयता कार्यान्वयनमा संघीय संसद् सक्रिय भएर लाग्ने आमअपेक्षा रहेको छ । नेताहरूले भनेझैँ मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन राज्यको संघीय स्वरूपलाई चलायमान बनाउनुपर्ने आजको महत्वपूर्ण आवश्यकता हो ।

आधुनिक नेपालको निर्माणदेखि नै एकात्मक र केन्द्रीकृत प्रणाली प्रयोग नेपालमा निकै लामो समयसम्म कायम रह्यो । यस्तो एकात्मक शासन व्यवस्थामा काठमाडौंलगायत केही भूभागबाहेक मुलुकको अधिकांश क्षेत्रमा विकासका न्यूनतम पूर्वाधारहरूसम्म पुगेनन् ।

मुलुकका विविध क्षेत्र र समुदायका जनताले यो देश र राज्य मेरो हो भन्ने महसुस गर्न सकेनन् । यस्तो अवस्थाको अन्त्यका लागि अपनाइएको संघीयतालाई संस्थागत गर्ने काम चाँडोभन्दा चाँडो गर्नुपर्ने जिम्मेवारी संघीय संसद् र सरकारको रहेको छ ।

राजधानी काठमाडौंका जस्तै सडक, शिक्षा, सञ्चार र विद्युतीकरण आफ्नो दूरदराजको गाउँमा पनि होस् भन्ने सबैको चाहना रहेको छ । यी सबैको प्राप्तिको मूल बाटो भनेको संघीयता नै हो । अहिले संविधानमा भएका कमी–कमजोरीलाई सच्याउँदै संघीय व्यवस्थालाई संस्थागत गर्दै जानु नै देश र जनताको हितमा रहेको छ ।

हुलाक र टिकटका बेथिति : कान्तिपुर 

अन्तर्राष्ट्रिय जगत्मा सिंगो मुलुकको नाम र पहिचान जोडिएर आउने हुलाक टिकट प्रकाशन तथा वितरणमा राजनीतिक स्वार्थ जोडिएका घटना पाइएका छन् । यो दृष्टान्त बाहिर आइसकेपछि यसको कार्यविधि र निर्देशिकाबारे आमचासो उब्जिएको छ ।

ठूला वा साना राजनीतिक परिवर्तनसँगै हुने पदीय हेरफेर र स्थानान्तरणको प्रभाव हुलाक टिकट छाप्ने विषयमा समेत गएर ठोक्किने गरेको अवस्था जति दिक्कलाग्दो देखिन्छ, त्यति नै अशोभनीय र असंगत देखिन्छ । लाखौंको संख्यामा छापिएका टिकट कहिले प्राविधिक त्रुटि त कहिले राजनीतिक कारणले भण्डारमा थन्किएर बसेको स्थितिले अझ भद्रगोल यथास्थितिको झल्को दिन्छ । यो राष्ट्रिय ढुकुटीको दुरुपयोगसमेत हो ।

अतिरिक्त हुलाक र छोटी हुलाकका नाममा आंशिक कर्मचारीको नचाहिँदो भार बेहोरेर तथा यो सेवालाई चुस्त–दुरुस्त गराउन नसकेर सरकारी तहका अड्डा–कार्यालयसमेतले यो सेवाको उपयोग गर्न हच्किरहेको दृष्टान्त आफैंमा दुस्खलाग्दो छ ।

यसकारण पनि हुलाक सेवा विभागले अब आफ्नो अस्तित्वको प्रश्नसँगै आजको प्रतिस्पर्धी युगमा समयानुकूल परिमार्जन आफूमा ल्याउनु जरुरी देखिएको छ । त्यसलाई नियमनको मुख्य कडी नै टिकट छपाइमा अपनाइने अनुशासन हो ।

सेयरको अर्थ सरोकार : नागरिक 

सेयर बजार सुचकांक उकालो लाग्नु र ओरालो लाग्नुका पछाडी खासै ठुला कारण हुँदैन ।

बजारमा उडन्ते खबरले पनि यसमा धक्का लाग्छ ।

कहिले सामान्य कारणले अचानक सकारात्मक प्रभाव पनि देखिन्छ ।

निर्वाचन, सरकार परिवर्तन, कम्पनीहरुको वार्षिकोत्सव र लाभाश घोषणा गर्ने समय आदिले सुचकांक उकालो लाग्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत साचा कार्यभार समालेयता सर्वसाधारणको उत्साहको प्रतिबिम्ब सेयर बजारमा देखिएको छैन ।

अहिले देखिएको लगानीयोग्य पुँजीको अभावलाई जसरी पनि अन्त्य गर्ने अर्थमन्त्री खतिवडाको अभिब्यक्ति लगत्तै सेयर बजारमा पहिरो जानु पछाडी वास्तविकता भन्दा हल्ला बढ्ता  कारक भएको देखिन्छ ।
सेयर यसै पनि एक बर्षदेखि घटिरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *