एक महिनामा ४०० मृगौला रोगीको डाइलासिस

रत्ननगर, फागुन २१ । पूर्वी चितवनको एक मात्र सरकारी अस्पताल रत्ननगर अस्पतालको सेवा सुधारको लागि विदेशीको सहयोग थपिँदै गएको छ ।

शान्ति मेड नेपालकी अध्यक्ष स्विजरल्याण्ड निवासी डा रुथ गोन्सेथको सहयोगले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणमा अस्पतालले सफलता हासिल गरेको छ । गोन्सेथले सो अस्पतालमा स्वास्थ्य उपकरण, मृगौला उपचार केन्द्र सञ्चालन, सोलार प्रविधि र अस्पतालको भवन निर्माणमा सहयोग गरेकी छन् ।

विदेशी नागरिकको सहयोगबाटै रत्ननगर अस्पतालको सेवा गुणस्तरीय र भौतिक विकासको काम अगाडि बढेको छ । विदेशीको सहयोग पाइरहेको रत्ननगर अस्पताललाई आइतबार एक जापानी नागरिकले सहयोगको घोषणा गरेका छन् ।

एक महिनामा ४०० मृगौला रोगीको डायलासिस गर्दैै आएको रत्ननगर अस्पताललाई रोटरी क्लब अफ सिमोदाते जापानका सदस्य काजुओ आराईले तीन वटा डाइलासिस मेशिन सहयोग गर्ने भएका हुन् ।

चितवनमा रहेका रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिट टाउन र रोटरी क्लब अफ गैंडाकोटको आग्रहमा जापानी नागरिक काजुओ आराईले सो अस्पताललाई डाइलासिस मेशिन सहयोग गर्ने भएका हुन् ।

एक महिना भित्र अस्पताललाई तीन मेशिन हस्तान्तरण गर्ने गरी काजुओ आराईले अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ र अस्पतालका प्रमुख डा अजय न्यौपानेलाई सहयोगपत्र हस्तान्तरण गरेका छन् ।

सहयोगपत्र हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले चितवनमै प्रभावकारी तवरले मृगौलाका रोगीहरुको डायलासिस गरिरहेको रत्ननगर अस्पताललाई डायलासिस मेशिन सहयोग गरेको भन्दै जापानी नागरिक काजुओ आराईलाई धन्यवाद व्यक्त गरेका थिए ।

अस्पतालको सेवा सुधार गर्ने क्रममा रत्ननगर अस्पतालमा डायलासिल सेन्टर सुरू गरेको भन्दै मेयर वनले रत्ननगर अस्पताललाई समग्र पूर्वीचितवनको आस्थाको केन्द्र बनाउन स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए । उनले रत्ननगर नगरपालिकाको कार्यपालिकाको बोर्डले सो अस्पताललाई ५१ शैयाको बनाउने निर्णय गरिरहेको भन्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माण र डाक्टरको दरबन्दी थप गर्न सरकारलाई आग्रह गरिएको बताए ।

रत्ननगर अस्पतालमा २०७२ सालबाट मृगौला उपचार केन्द्र सुरू गरिएको अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिले ६ डायलासिस मेशिन रहेको र बिरामीको चापलाई हेर्दा त्यो अपुग भएको उनले बताए । डाइलासिस मेशिनको आवश्यकता खड्की रहेको अवस्थामा जापनी नागरिक काजुओ आराईले तीन मेशिन सहयोग गरेर ठूलो गुन लगाएको अध्यक्ष श्रेष्ठले बताए । सो अस्पतालद्वारा सञ्चालित मृगौला उपचार केन्द्रमा मासिक ४०० जनाले डाइलासिस गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मृगौला रोगीले हप्ताको दुई पटक डाइलासिस गर्नुपर्ने हुन्छ । रत्ननगर अस्पतालले सुरू गरेको मृगौला उपचार केन्द्रबाट देशका विभिन्न जिल्लाबाट आएर बिरामीहरुलाई डाइलासिस गर्ने गरेका छन् । चितवनसहित वीरगंज, सर्लाही, रौतहट, बारा, मकवानपुर पर्सा, नवलपरासी, गोरखा, तनहुँ र कैलालीका मृगौला रोगीहरु रत्ननगर अस्पतालमा मृगौलाको डाइलासिस गर्न आउने गरेको अस्पतालका प्रमुख डा अजय न्यौपानेले बताए ।

सरकारले रत्ननगर अस्पतालाई अहिलेसम्म १५ शैयाको मात्र स्वीकृति दिएको भए पनि सो अस्पतालले सेवालाई गुणस्तरीय बनाएको छ । १५ शैयाको स्वीकृति पाएर पनि मृगौला उपचार केन्द्र सञ्चालन गर्ने सो अस्पताल नेपालकै एक मात्र अस्पताल हो । स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सो अस्पतालले मृगौला उपचार केन्द्रसहित छाला, शल्यक्रिया, हार्डजोर्नी, डेन्टल, ल्याब, प्रसूतिलगायतका विभाग सञ्चालन गरी बिरामीको उपचार गरिरहेको प्रमुख डा न्यौपानेले जानकारी दिए ।

पत्र हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका अस्टिेण्ट गर्भनर राजेन्द्रकुमार श्रेष्ठ, ६ वटै क्लबका अध्यक्ष तथा प्रतिनिधिहरू, रत्ननगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा रत्ननगरका पुराना व्यवसायी गोपालराज कर्माचार्य, वडा नं.१० का वडा अध्यक्ष केशव आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *