संसद्को पहिलो बैठक आज, के के हुनेछ बैठकमा ?

काठमाडौं, फागुन २१ । संघीय संसदको पहिलो बैठक आज बस्दैछ । आइतबार सांसदहरुले सपथ लिएपछि आज पहिलो बैठक बस्ने कार्यसूची तय गरिएको हो ।
सोमबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभा अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ ।

संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले संम्बोधन गर्ने र दुवै सदनको बैठक बस्ने सम्वैधानिक प्रावधान भए पनि संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरिनेछ ।

दुवै सदनले बैठक सञ्चालनको लागि अध्यक्ष मण्डल चयन गर्ने कार्यसूची पनि तय गरिएको छ । जेष्ठ सदस्य वा सभामुख वा अध्यक्ष कुनै कारणबस अनुपस्थित भएमा अध्यक्ष मण्डलका सदस्यबाट बैठक सञ्चालन गरिन्छ ।

संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार पहिलो बैठकले दुवै सदनले आ–आफ्ना बैठक सञ्चालन सम्बन्धि अन्तरिम कार्यविधि पारित गर्नेछ ।  कार्यसूचीअनुसार २६ गते सभामुख चयन हुनेछ । २७ गते प्रधानन्त्रीले विश्वासको मत लिनेछन् र ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुनेछ ।

यस अतिरिक्त दुवै सदनको पहिलो बैठकलाई दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने तयारी पनि रहेको तर टुंगो नलागेको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।
संघीय संसद्का ३३४ मध्ये ३२६ जनाले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५मध्ये २७१ र राष्ट्रियसभाका ५५ सांसद्ले शपथ ग्रहण गरेका हुन् ।

मंसिर १० र २१ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो भने राष्ट्रियसभाको निर्वाचन माघ २४ मा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *