बिचरो स्यामे !

दिदीले मेरो नयाँ डेरा देख्नु भएको थिएन । ९ बजे बस स्टेनमा आइराख्नु भन्नु भएकाले म साडे ८ बजे नै दिदीलार्इ लिन बाटो लागेँ ।बाटामा एउटा सानो खोला थियो । आफ्नै सुरले पुलमा हिड्दै गर्दा पछाडिबाट कसैले पछ्याइ रहेको आभाष भयो ।’होलान म जस्तै बटुवा’ ।वास्ता नगरी अघि बढेँ ।सितिमिती कुरामा नडराउने सानै देखि म।

सवारी साधनको ओहोर दोहोर निकै भएपनि पैदल यात्रीहरू खास थिएनन्। सवारी साधनको चर्को हर्नले कोही बोलेको पनि सुन्न सक्ने स्थिति थिएन । केही बेर हिँडे पछि फेरि कोही मेरो पछि पछि मलार्इ नै पछ्याउँदै छ जस्तो लाग्यो ।पुल कटेपछि उकालो बाटो सुरु भयो ।जंगल जस्तो ठाउँ ,घरहरू खास थिएनन् । उकालो बाटो भएपनि मैले मेरो गति बढाएँ । अब भने प्रष्ट भयो कि कोही मलार्इ पछ्याइ रहेको छ। जुत्ताको ढ्यापढ्याप प्रष्टै थियो ।

मैले बाटो क्रस गरेँ। पारी पुगेपछि फर्केर हेरेँ। त्यो पनि बाटो क्रस गर्दै रहेछ ।ट्याम्पुले छलेर राम्रोसँग मुख देख्न सकिनँ। मलार्इ खुब रिस उठ्यो । म बलले भ्याएसम्मका पार्इला चाल्न थालेँ ।उ पनि पो छिटोछिटो ढ्यापढ्याप पार्दै पछि-पछि आउन थाल्यो ।अबभने रिसले पारो निकै माथि चढ्यो ।सँगसँगै मनमा चिसो पनि पस्यो ।यताउता कोही पनि थिएनन् ।म दैाडिएँ ।बल्लबल्ल चोकमा निस्किदाँ पसिनाले लपक्कै भिजेकी पाएँ ।सासै जाला जस्तो अवस्था थियो । एकछिन उभिएँ ।बल्ल सास ठीक ठाउँमा आएपछि दिदी अोर्लिने बस स्टेन तिर लागेँ ।बल्ल मनमा ढुक्क भयो ।पछि फर्केर हेर्नसम्म पनि आवस्यक ठानिनँ ।

आनन्दले बाटो काटेर बस रोक्ने ठाउँमा पुगेँ ।घडि हेर्दै दिदीको प्रतिक्षामा बस तिर मात्र ध्यान दिन थालेँ ।दायाँबायाँ कसैको वास्ता नगरी परपर सम्मका बसमा आँखा तान्दै गर्दा कतिबेला देखि अगाडि नै उभिएर धेरै बर्ष भेट नभएको मेरो स्कुलको पुरानो साथी श्याम मुर्छा परूँला झैँ गर्दै मलार्इ हेर्दै हाँस्दै रहेछ ।

म लाजले भुतुक्क हुँदै भने ‘श्यामे तिमी ….?’ उ केही बोल्न नसकी मरी मरी हाँसिरह्यो ।

(साहित्य संगालो)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *