एमाले–माओवादी सांसदहरुको प्रशिक्षण शुरु, नवराज सिलवाल पनि सामेल

काठमाडौं, फागुन १९ । नेकपा एमाले र माओवादी केन्द्रका संघीय संसदमा निर्वाचित सांसदहरुको प्रशिक्षण नयाँ बानेश्वरमा शुरू भएको छ । आईतबार सांसदहरुको सपथ ग्रहणको पूर्वसन्ध्यामा नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण सुरू भएको हो ।

सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ । समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसद् बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुको प्रशिक्षण सुरू भएको जानकारी दिइन् ।

सिलवाल पनि प्रशिक्षणमा

सरकारी दस्तावेज किर्ते गरेको अभियोग लागेका पूर्वडिआइजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाल पनि सांसदहरुको प्रशिक्षणमा सहभागी छन् । तर, प्रहरीले भने यसबारे अविज्ञता प्रकट गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका सिलवाल संघीय संसद भवन बानेश्वरभित्र देखिएपछि प्रतिक्रिया माग्दा प्रहरी प्रवक्ता मनोज नेउपानेले यसबारे आफूलाई जानकारी नभएको बताए ।

बानेश्व स्थित संसद भवनमा चौविसै घण्टा प्रहरीको पहरा हुने गरेको छ ।

सिलवालले वरीयताका आधारमा आफूलाई नै डीआईजीबाट आईजीपीमा बढुवा गर्नुपर्ने मागसहित सर्वोच्चमा दिएको रिटमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन तोडमोड गरेको आरोप छ । उनी विरुद्ध प्रहरीले इन्टरपोलमार्फत समेत पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *