थरीथरी भाषामा शपथ लिने तयारीमा सांसद

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै

काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ ।

सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जसमध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।

राष्ट्रिय सभामा मनोनीत ३ सदस्यको शपथ रोकिने
राष्ट्रिय सभाका लागि सरकारले सिफारिस गरेका ३ जना सांसदको शपथ भने नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनीहरूको शपथ रोकिएको हो । राष्ट्रिय सभा सदस्यका लागि सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । राष्ट्रपतिले राष्ट्रिय सभामा उनीहरूलाई मनोनयन गरे पनि सर्वोच्चले शपथ नगराउन आदेश दिएको थियो । खतिवडा, बिडारी र पौडेलको मनोनयन संवैधानिक प्रावधानअनुकूल नदेखिएको भन्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म शपथ नगर्न सर्वोच्चले भनेको छ ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि एमाले अध्यक्ष केपी ओलीले ८ फागुनमा राष्ट्रिय सभा सदस्यमा उनीहरूलाई सिफारिस गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोही दिन तीनैजनालाई मनोनयन गरेकी थिइन् । तर, त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले उनीहरूको मनोनयन रोकेकी थिइन् । देउवा सरकारले सिफारिस गरे पनि सांसद नबनेकाले असंवैधानिक कदम भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मुद्दामा अन्तरिम आदेश सुनाउँदै सर्वोच्चले ३ जनाको शपथ रोक्न भनेको हो ।

९ सांसदले हिन्दी भाषामा शपथ लिँदै
नौ सांसदले हिन्दी भाषामा शपथ लिने भएका छन् । जसमध्ये प्रतिनिधिसभाका ८ र राष्ट्रिय सभाका १ सांसदले हिन्दी भाषामा शपथ लिनेछन् । हिन्दी भाषामा शपथ लिने प्रतिनिधिसभाका सांसदमा राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सरिता गिरी, प्रमोद शाह, चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल छन् । राष्ट्रिय सभाका सदस्य रमेश यादवले पनि हिन्दी भाषामा शपथ लिने भएका छन् ।

निवर्तमान सभामुखले मगर भाषामा शपथ लिँदै
निवर्तमान सभामुख ओनसरी घर्तीले मगर भाषामा शपथ लिने भएकी छिन् । उनीसँगै उनका श्रीमान् अर्थात् माओवादी नेता वर्षमान पुनले पनि मगर भाषामै शपथ लिने भएका छन् । उनीहरूले शुक्रबार संघीय संसद् सचिवालयमा पुगेर मगर भाषामा शपथ लिन नाम दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बज्जिका भाषामा शपथ लिने
संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैको पहिलो बैठक आगामी सोमबार बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २१ गतेबाट लागू हुने गरी संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी हुन् । सोहीबमोजिम सोमबार अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । त्यसअघि आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभा र साँझ ५ बजे राष्ट्रिय सभाका सदस्यको शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद्को भवनमा राखिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष चयन हुनुअघि ती सदनको अध्यक्षता सम्बन्धित सदनको ज्येष्ठ सदस्यले गर्नेछन् । सोहीबमोजिम आगामी सोमबारबाट प्रारम्भ हुने संघीय संसद्को अधिवेशनमा प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सदस्य महेन्द्र राय यादवले गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्नेछिन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्र राय यादवले अन्य सांसदलाई शपथ गराउनुअघि आइतबार अपराह्न १ बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन् । उनले बज्जिका भाषामा शपथ लिने भएका छन् । संघीय संसद् सचिवालयमा उनले बज्जिका भाषाबाट शपथ लिने भन्दै निवेदन दिएका छन् ।

अरूलाई शपथ भने नेपालीमै गराउने
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्र राय यादव आफूले बज्जिका भाषामा शपथ लिए पनि अन्य सांसदलाई भने नेपाली भाषामै शपथ गराउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले ज्येष्ठ सदस्यले अन्य सदस्यलाई नेपाली भाषामा शपथ गराउने बताए । उनले भने, ‘संघीय संसद्का सदस्यहरूले चाहेमा आफ्नो मातृभाषामा शपथ लिन सक्ने कानुनी व्यवस्था छ । उहाँहरूको अधिकारको कुरा हो । तर, ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउँदा भने राष्ट्रिय कामकाजकै भाषा अर्थात् नेपाली भाषामा गराउनुहुनेछ ।’ संघीय संसद् सचिवालयमा प्राप्त निवेदनअनुसार प्रतिनिधिसभाका २७५ सांसदमध्ये ३६ जनाले मातृभाषामा शपथ लिने भए पनि २३९ जनाले नेपाली भाषामै शपथ लिनेछन् । त्यस्तै राष्ट्रिय सभाका ५६ मध्ये ६ जनाले नेपालीबाहेक भाषामा शपथ लिनेछन् भने ५० जनाले नेपाली भाषामा शपथ लिनेछन् ।

पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन नगर्ने
प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि ऐतिहासिक पहिलो संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छिन् । तर, सोमबारको बैठकमा राष्ट्रपतिले उपस्थित भएर सम्बोधन नगर्ने भएकी छिन् । राष्ट्रपतिले अधिवेशन प्रारम्भ भएको व्यहोरासहित पठाएको पत्र दुवै सदनको पहिलो बैठकमा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

रेशम चौधरीको शपथ होला ?
७ भदौ ०७२ मा कैलाली टीकापुर घटनाका अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ । सचिवालयले आयोजना गरेको दलहरूबीचको छलफलमा राजपा नेता बृजेशचन्द्र लालले चौधरी जनताबाट निर्वाचित भइसकेकाले उनले शपथ लिन पाउनुपर्ने बताएका हुन् । जब कि अदालतको आदेशमा चौधरी अहिले थुनामा छन् ।

चौधरीले थारू भाषामा शपथ गर्ने गरी निवेदन दर्ता पनि गराएका छन् । स्रोतका अनुसार उनले पार्टीका शुभचिन्तकमार्फत निवेदन दर्ता गराएका हुन् । तर, सर्वोच्च अदालतले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नपाउने फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *