फोरमका अध्यक्ष यादवले दोस्रो वरीयता मागेपछि..

काठमाडौं, फागुन १९ । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ ।

दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन् । फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो ।

यादवले मन्त्रिपरिषदमा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राखे पनि ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ दिएका छैनन् । ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, यादवले भनेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने छलफलले आइतबारसम्म सरकारले पूर्णता पाउने बताए ।

‘संविधान संशोधनमा एमाले ओपन छ’, ज्ञवालीले भने। फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकासनिर्माण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *