होलीको महत्व बुझाउन महोत्सव

रत्ननगर, फागुन १८ । रत्ननगर नगरपालिका–७ सिसुवार चौंरमा दोस्रो फगुवा सांस्कृतिक महोत्सव बिहीबारदेखि सुरू भएको छ ।

होली पर्वको अवसर पारेर स्थानीय प्याराडाइज युवा क्लबले महोत्सव आयोजना गरेको हो । होली पर्वमा विकृति बढ्दै गएपछि यसको सांस्कृतिक महत्व बुझाउन महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक शरद चौधरीले बताए । सो महोत्सवको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले होली पर्वले विशिष्ट महत्व बोकेको भन्दै यसमा विकृति भित्रनु दूर्भाग्य भएको बताए । ‘रंगहरको पर्व होलीमा विकृति भित्रियो’ उनले भने, ‘यसलाई अन्त्य गर्न जरुरी छ ।’ होलीको सांस्कृतिक पक्षले नेपाली नेपालीलाई एकजुट हुन प्रेरित गर्ने भन्दै मेयर वनले होलीका नाममा विकृति भित्रनु संस्कृतिलाई उपेक्षा गरे सरह हुने बताए । एक आर्कामा रंग दलेर आत्मियता साटासाट गर्ने पर्वलाई सोही अनुसार मनाउन मेयर वनले नगरवासीलाई आग्रह गरे ।

महोत्सव सुरू हुनुपूर्व सौराहाको मुख्यचोकबाट झाँकी र्याली निकालिएको थियो । र्यालीमा परम्परागत थारू पोसाकमा सजिएका थारु महिला तथा पुरुषहरु सहित अन्य संघसंस्थाकाप्रतिनिधिहरुको सहभागिता रहेको थियो । महोत्सव उद्घाटन समारोहमा विभिन्न क्षेत्रका योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

स्वास्थ्यतर्फ डा गौरीराम चौधरी, वन्यजन्तु संरक्षणतर्फ हर्क लामा, रेडियो सञ्चारकर्मी सुमित्रा महतो, डा सञ्जय महतो र थारुहट आन्दोलनका घाइते सन्जिब महतोलाई सम्मान गरिएको महोत्सवका सांस्कृतिक संयोजक दिपेश चौधरीले जानकारी दिए ।

महोत्सवमा विभिन्न प्रतियोगितासँगै थारू संस्कृतिसँँग जोडिएका सांस्कृति प्रस्तुतिहरु हुने चौधरीले बताए । क्लबका अध्यक्ष मथुरा महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नंं.५ का वडा अध्यक्ष कृष्ण महतो, वडा नं.७ का वडा अध्यक्ष राजन भट्ट, बाघमारा मध्यवर्ती सामुदायिक वनका सचिव सूर्यबहादुर तामाङ, थाकस क्षेत्र नं.७ का पूर्वअध्यक्ष जंगीलाल चौधरी, क्बलका सचिव मनोज चौधरीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *